
सिरहा । भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङको स्थलगत निरीक्षणपछि धनुषा–सिरहा जोड्ने कमला नदीको अधुरो पुल तीन महिनाभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण कम्पनीले जनाएको छ।
तराई–मधेसको ‘लाइफलाइन’ मानिने हुलाकी राजमार्गअन्तर्गत पर्ने यो पुल २०६८ सालमा तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भए पनि १४ वर्ष बितिसक्दा पनि अपूरै रहेको छ। शुक्रबार मन्त्री घिसिङले निर्माणस्थलको निरीक्षण गर्दै स्थानीयले वर्षौंदेखि भोग्दै आएको जोखिम, सास्ती र असुरक्षालाई प्रत्यक्ष अवलोकन गरे। उनले स्वयं डुँगा चढेर नदी पार गर्दै स्थानीयको दैनिक कष्ट नजिकबाट बुझे।
निरीक्षणपछि सामाजिक सञ्जालमा मन्त्री घिसिङले पुल निर्माणको ढिलाइले स्थानीयले भोग्नु परेको पीडा देख्दा मन भारी भएको उल्लेख गरे। उनले लेखे, “विसं २०६८ मा तीन वर्षमै सकिने भनिएको पुल अझै अधुरो छ। यसको सबैभन्दा ठूलो मार स्थानीयवासीले बेहोर्दै आएका छन्। निरीक्षणका क्रममा उनीहरूले भोग्दै आएको दैनिक सास्ती, जोखिम र आक्रोश देख्दा धेरै दुःख लाग्यो।”
स्थानीयको आवतजावत सहज बनाउन अस्थायी विकल्पबारे विस्तृत छलफल भएको र आवश्यक प्रक्रिया अघि बढाइने पनि मन्त्रीले जानकारी दिए। प्राविधिक पक्षमा उठेका प्रश्नबारे सम्बद्ध निकायहरू जिम्मेवार हुने र मन्त्रीस्तरीय अनुगमन निरन्तर जारी रहने उनले स्पष्ट पारे।
पुल निर्माणको जिम्मामा रहेको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले तीन महिनाभित्र पुल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरे। “हामी मन्त्रीज्यू समक्ष तीन महिनाभित्र पुल पूरा गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गर्दछौं,” शर्माले भने।
तीन वर्षमै निर्माण गरिसक्ने सम्झौता भए पनि पटक–पटक म्याद थपिँदा १३ वर्ष बितिसकेको छ। प्रारम्भिक ठेकेदार पप्पु कन्स्ट्रक्सनले काम अलपत्र पारेपछि पप्पु कालोसूचीमा पर्यो र बाँकी काम लुम्बिनी बिल्डर्सले बज्य्राउँदै आएको हो।
विसं २०७८ असार १७ को बाढीले पुलका दुई जग भासिँदा क्षति पुगेको थियो। कूल ४६९ मिटर लम्बाइको पुलको हाल भौतिक प्रगति ८३ प्रतिशत र वित्तीय प्रगति ८२ प्रतिशत रहेको छ। निर्माणसम्बन्धी सम्झौता नवौँ पटक म्याद थप प्रक्रियामा छ।
शुक्रबारको निरीक्षण टोलीमा मन्त्री घिसिङसँगै युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशी, हुलाकी राजमार्ग निर्देशनालय जनकपुरका प्रमुख कृष्णकुमार महतो, जेन्जी अगुवाहरू सुदन गुरुङ, शिव यादव, पुरषोत्तम यादवलगायत उपस्थित थिए।
कमला नदीको यो पुल मधेस प्रदेशको यातायात सहजता, सुरक्षा र आर्थिक विकासका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ। मन्त्रालयले नियमित अनुगमन, सहजीकरण र आवश्यक सहयोगमार्फत निर्माण कार्य निर्धारित समयमै पूरा गराइने प्रतिबद्धता जनाएको छ।





