ट्रेड युनियनको आन्दोलनले योयो प्लाइउड उद्योग बन्द, ६ सयभन्दा बढी मजदुर बेरोजगार



बाँके । कोहलपुर नगरपालिका–१४ स्थित योयो प्लाइउड इण्डष्ट्रिज प्रालि तीन महिनादेखि पूर्ण रूपमा बन्द हुँदा उद्योगमा कार्यरत ६ सयभन्दा बढी मजदुर रोजगारीविहीन भएका छन्। ‘अखिल नेपाल औद्योगिक मजदुर सङ्घ’ नामक ट्रेड युनियनको आन्दोलनलाई कारण देखाउँदै उद्योग व्यवस्थापनले उत्पादन रोकिदिएपछि मजदुरहरूको आजीविका प्रभावित भएको हो।

रोजगारी गुमेपछि मजदुरहरू हाल आन्दोलनभन्दा बढी रोजगार सुनिश्चितताका लागि नेपालगञ्जस्थित श्रम तथा रोजगार कार्यालय धाउन बाध्य छन्। उद्योगमा ट्रेड युनियन गठन भएपछि मजदुरहरू दुई समूहमा विभाजित भएका छन्। कोहलपुर–१५ का मजदुर शोभाराम यादवका अनुसार ट्रेड युनियनका नाममा भइरहेका गतिविधिका कारण उनीहरू बेरोजगार बन्न पुगेका छन्।

केही मजदुरले आफ्नै सहमति बिना, उद्योगमा नकाम गर्ने व्यक्तिहरूको नामसमेत राखी ट्रेड युनियन दर्ता गरिएको दाबी गर्दै त्यस्तै युनियन खारेजीको मागमा श्रम कार्यालयमा निवेदन दिएका छन्। उनीहरूले युनियनका नेतृत्वकर्ताबाट धम्की र दबाबसमेत खेप्नुपरेको बताएका छन्।

कोहलपुर–६ की मजदुर गीता थारूले संगठनको विवादका कारण दुई महिनादेखि आफू बेरोजगार भएको बताइन्। “हामीलाई अहिले संगठनभन्दा काम अत्यावश्यक छ,” उनले भनिन्।

उद्योगका प्रबन्ध निर्देशक राजीव श्रेष्ठले ट्रेड युनियन नेतृत्वका धेरैजना उद्योगमा कार्यरत नै नरहेको आरोप लगाए। उनका अनुसार फर्जी नामका आधारमा दर्ता भएको युनियनलाई प्रमाणीकरण नगरी श्रम कार्यालयले दर्ता स्वीकारेपछि उद्योग सञ्चालनमै अवरोध उत्पन्न भयो।

उनले उद्योग पूर्ण क्षमतामा सञ्चालन नहुँदा दैनिक करिब पाँच लाख रुपैयाँ घाटा व्यहोरिरहेको भन्दै, श्रम कार्यालयले खाता रोक्का गरेपछि उद्योग बन्द गर्नैुपर्ने अवस्था आएको बताए। “हामी सरकारका मापदण्डअनुसारै मजदुरको पारिश्रमिक दिँदै आएका छौँ तर हालैको घाटाका कारण तत्काल पारिश्रमिक वृद्धि वा बोनस सम्भव छैन,” श्रेष्ठले भने। उनले उद्योग बन्द हुँदा दैनिक १० लाख रुपैयाँभन्दा बढी नोक्सानी भइरहेको भन्दै उद्योग सञ्चालनका लागि सहज वातावरण बनाउन आग्रह गरे।

श्रम तथा रोजगार कार्यालय नेपालगञ्जका प्रमुख पिन्टुकुमार रजकले मजदुरहरू विभाजित भएको पुष्टि गर्दै मजदुरको उजुरीका आधारमा कानुनी प्रक्रिया अघि बढाउँदा उद्योगको खाता रोक्का गरिएको जानकारी दिए। अहिले उद्योग र मजदुर दुवै पक्ष उद्योग पुनः सञ्चालनका पक्षमा रहेको र छलफल जारी रहेको उनको भनाइ छ।

ट्रेड युनियन दर्ता प्रकरणबारे रजकले दर्ताका लागि आवश्यक कागजपत्र तथा हस्ताक्षरका आधारमा प्रक्रिया पूरा गरिएको स्पष्ट पारे। हस्ताक्षर कीर्तेसहितका विवाद भए ३५ दिनभित्र श्रम अदालतमा जाने कानुनी व्यवस्था रहेको पनि उनले बताए।

पाँच वर्षदेखि सञ्चालनमा रहेको यो उद्योगले कोहलपुर–१४ ढोरपुर र ठाडागाउँका खटिक समुदायसहित स्थानीय बासिन्दालाई गाउँमै रोजगारी प्रदान गर्दै आएको थियो। उद्योग बन्द भएपछि स्थानीयहरूको प्रमुख रोजगार स्रोतसमेत अवरुद्ध बनेको छ।

प्रतिक्रिया दिनुहोस्