
ताप्लेजुङ । प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा मन्दिर क्षेत्रमा यो वर्षको पहिलो हिमपात सुरु भएको छ। शुक्रबार दिउँसो हल्का वर्षा भएपछि साँझदेखि हिउँ पर्न थालेको थियो।
हल्का हिमपातसँगै क्षेत्रको चिसो थप बढेको पाथीभरा क्षेत्र विकास समितिका कर्मचारी राजेन्द्र महतले जानकारी दिए। बढ्दो जाडोलाई मध्यनजर गर्दै समितिले तीर्थयात्रीलाई आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ।
हिमपातका कारण क्षेत्रको सामान्य आवतजावतमा केही असर परेको छ। यद्यपि, रातभर परेको हिउँका कारण शनिबार बिहान मन्दिर पुगेका भक्तजनले दर्शनसँगै हिउँ खेल्दै रमाइलो पनि गरेका छन्। बिहानैदेखि मन्दिर क्षेत्रमा भक्तजनको भीड देखिएको छ।





