
नवलपरासी । व्यावसायिक तरकारी उत्पादनमा विषादीको उच्च मात्रा भेटिन थालेपछि कृषि विकास कार्यालय नवलपुरले किसानलाई लक्षित गर्दै विषादी न्यूनीकरणसम्बन्धी सचेतना अभियान सुरु गरेको छ।
कृषि विकास कार्यालय नवलपुर, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ कावासोती तथा स्थानीय तहको संयुक्त पहलमा थालिएको यस अभियानमार्फत किसानलाई विषादीको सही प्रयोग, मात्रा र यसको स्वास्थ्य तथा वातावरणीय प्रभावबारे जानकारी दिइने कार्यालय प्रमुख कुलप्रसाद तिवारीले जानकारी दिए।
उनका अनुसार किसानको बारीमै पुगेर विषादीको जिम्मेवारीपूर्ण प्रयोगबारे प्रशिक्षण दिइनेछ। केही दिनअघि कावासोतीस्थित प्रयोगशालामा काउलीमा ‘अर्गानोफस्फेट’ विषादी ९८ प्रतिशतसम्म भेटिएपछि सतर्कता बढाएको कार्यालयले जनाएको छ। कावासोती कृषि थोक बजारमा आउने तरकारीमा निरन्तर रूपमा विषादीको अवशेष भेटिन थालेपछि अभियानलाई अझै प्रभावकारी रूपमा अघि बढाइएको हो।
अभियान अंतर्गत किसानसँगै विषादी बिक्री गर्ने एग्रोभेट सञ्चालकलाई पनि उचित प्रयोगबारे जानकारी गराइँदैछ। देवचुली नगरपालिका कृषि विकास शाखाका प्रमुख गगन भट्टराईका अनुसार किसानलाई विषादीको प्रकार, प्रयोगको समय, मात्रा र मानव स्वास्थ्यमा पर्न सक्ने जोखिमबारे विस्तृत जानकारी प्रदान गर्ने काम भइरहेको छ। साथै विषादी प्रयोगपछि कति दिनसम्म बाली टिप्न नहुने भन्ने ‘करफे’ अवधिबारे पनि किसानलाई प्रशिक्षण दिइने बताइयो।
कृषि विकास कार्यालयका प्रमुख तिवारीका अनुसार जथाभावी र अत्यधिक विषादी प्रयोग, कडा प्रकारका विषादीको प्रयोग तथा सुरक्षा उपायको कमीले सागसब्जीमा अवशेष बढी मात्रामा भेटिने गर्छ। किसानलाई सही तरिकाले प्रयोग गर्न सिकाउन सके विषादीको मात्रा उल्लेख्य रूपमा घट्ने र उपभोक्ताको स्वास्थ्य सुरक्षा गर्न ठूलो योगदान पुग्ने उनको भनाइ छ।
संयुक्त अभियान सुरु भएपछि किसानमा सचेतना वृद्धि भई विषादी प्रयोगमा सुधार आएको कार्यालयको दाबी छ। नियमित परीक्षण र निरन्तर सचेतनामूलक कार्यक्रमका कारण नवलपुरका व्यावसायिक फर्मबाट उत्पादन हुने तरकारीमा सुधार देखिन थालेको कार्यालयले जनाएको छ।





