प्याब्सन मध्य क्षेत्रीय बास्केटबल सोमबारदेखि सुरु



काठमाडौं ।
प्याब्सन मध्य क्षेत्रीय समितिद्वारा आयोजित १४ औं प्याब्सन मध्य क्षेत्रीय बास्केटबल प्रतियोगिता सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा तीन विधामा २० विद्यालयका ४२ टिमको सहभागिता रहने आयोजक समितिका अध्यक्ष धनप्रसाद सुब्बाले शुक्रबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।
सिनियर ब्वाइजतर्फ १८ टिम तथा सिनियर गल्र्स र जुनियर ब्वाइजमा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्। खेल बुद्धनगरस्थित इनोभेटिभ इङलिस स्कुल र बानेश्वरस्थित काठमाडौं जेभियर्स पब्लिक स्कुलमा हुनेछ भने नकआउट चरणका सबै खेल इनोभेटिभमै धेरै हुनेछन्। उद्घाटन समारोह पनि सोही स्थानमा हुनेछ।
प्रतियोगिता सञ्चालनमा करिब ४ लाख रुपैयाँ खर्च हुने संयोजक तेजप्रकाश श्रेष्ठले जानकारी दिए। गत संस्करणमा हेम्सले सिनियर ब्वाइज, र काठमाडौं जेभियर्सले जुनियर ब्वाइज तथा सिनियर गल्र्सतर्फको उपाधि जितेको थियो। यसपटक शीर्ष तीन टिम, अनुशासित टिम, ‘मोस्ट भेलुएबल प्लेयर’ र सर्वाधिक स्कोरकर्तालाई ट्रफी, पदक तथा प्रमाणपत्र प्रदान गरिनेछ। फाइनल मंसिर १३ गते हुनेछ।
पत्रकार सम्मेलनमा काठमाडौं नगर प्याब्सन र आयोजक समितिका पूर्व अध्यक्षगण, काठमाडौं जेभियर्सका प्रिन्सिपल आरबी अधिकारी, इनोभेटिभका प्रिन्सिपल विजय थापालगायत सहभागी थिए।

प्रतिक्रिया दिनुहोस्