
ललितपुर ।
प्रयागपोखरीस्थित ललितपुर जिल्ला खेलकुद विकास समितिमा नवनिर्मित टेबलटेनिस ट्रेनिङ हलको बिहीबार औपचारिक उद्घाटन भएको छ । ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले हल उद्घाटन गरेका हुन् ।
वडा १२ को सहयोगमा करिब ३५ लाख लागतमा निर्माण गरिएको हलमा ६ टेबलटेनिस बोर्ड, २ चेन्जिङ रुम तथा २ शौचालय रहेको समितिका कार्यालय प्रमुख बाबुकाजी श्रेष्ठले जानकारी दिए ।
मेयर महर्जनले महानगरपालिकाले खेलकुदको विकासलाई प्राथमिकतामा राखेको उल्लेख गरे । वडा अध्यक्ष नारायणलाल अवाले टेबलटेनिस हल निर्माणदेखि समिति क्षेत्रमा अन्य संरचनाको जीर्णोद्धारमा समेत निरन्तर सहयोग गरिरहेको बताए ।
अध्यक्ष विनोद महर्जनले हल निर्माणसँगै खेलाडीलाई अभ्यासका लागि लैनचौर धाउनुपर्ने बाध्यता हट्ने विश्वास व्यक्त गरे । सो अवसरमा हल निर्माण उपभोक्ता तथा अनुगमन समितिका पदाधिकारीलाई ट्रयाकसुट प्रदान गरी सम्मान गरिएको थियो ।





