
काठमाडौं ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य–सचिव टंकलाल घिसिङले चौथो दक्षिण एसियाली सिनियर एथलेटिक्स च्याम्पियनसिपमा पदक विजेता नेपाली खेलाडीहरूलाई भेटेर बधाइ तथा शुभकामना व्यक्त गरेका छन् । भारतको झारखण्डमा कात्तिक ६ देखि ८ गतेसम्म भएको प्रतियोगितामा नेपालले २ रजत र ४ कांस्य पदक हात पारेको थियो ।
१० हजार मिटर दौडमा राजन रोकाय तथा ८ सय मिटर दौडमा सोमबहादुर कुमालले रजत पदक जिते । ५ हजार र १० हजार मिटर दुबै दौडमा कास्य जितेकी सन्तोषी श्रेष्ठले दुबै स्पर्धामा राष्ट्रिय कीर्तिमान समेत बनाएकी छन् ।
त्यसैगरी, ५ हजार मिटरमा मुकेश बहादुर पालले कांस्य जिते भने मिक्स्ड रिलेमा सोमबहादुर कुमाल, रामप्रसाद थारु, जयरानी थारु र रमिता थारु समावेश टोलीले कांस्य पदक प्राप्त गर्यो । कार्यक्रममा राखेपका सदस्य प्रकाशकुमार कुसारी, अञ्जना श्रेष्ठ, हिमालकुमार श्रेष्ठलगायत सहभागी थिए ।





