
काठमाडौँ, मङ्सिर ४ गते ।
अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आइओसी) र विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) द्वारा संयुक्त रूपमा सञ्चालन भइरहेको खेलकुद–आधारित स्वास्थ्य प्रवर्धन परियोजनाको दोस्रो चरणको प्रगति बारे जानकारी लिन नेपाल ओलम्पिक कमिटी (एनओसी) ले बिहीबार ‘हेल्थ कन्सर्न’ का प्रतिनिधिसँग भेटघाट गरेको छ।
एनओसीका उपाध्यक्ष चतुरानन्द राजवैद्य र सचिव रमेश सिवाकोटीले हेल्थ कन्सर्नका प्रोग्राम म्यानेजर राजेन्द्र थापा तथा एड्मिन–फाइनान्स अफिसर ममता पौडेलसँग परियोजना कार्यान्वयनका योजना, समन्वय र आगामी रणनीतिबारे विस्तृत छलफल गरेका हुन्। यसअघि एनओसीले पाथ तथा हेल्थ कन्सर्नका प्रतिनिधिसँग पहिलो चरणको कार्य प्रगति बारे समीक्षा गरेको थियो।
खेलकुद र स्वास्थ्य परियोजनाको समन्वयका लागि एनओसीसँगको सहकार्यमा पाथलाई जिम्मेवारी दिइएको छ भने कार्यक्रमहरूको कार्यान्वयन हेल्थ कन्सर्नमार्फत हुँदै आएको छ। बोलकबोल प्रक्रियाबाट चयन भएको हेल्थ कन्सर्नले परियोजना सञ्चालन गरिरहेको छ। परियोजना आइओसी र डब्ल्यूएचओको आर्थिक सहयोगमा अघि बढाइएको हो।
नेपालमा बागमती प्रदेशको खेलकुद तथा स्वास्थ्य मन्त्रालयले चितवन, ललितपुर, मकवानपुर र नुवाकोट गरी चार जिल्लालाई परियोजना क्षेत्रका रूपमा छनोट गरेको छ। आइओसी र डब्ल्यूएचओले पहिलो चरणमा नेपालसहित भियतनाम, पेरु, तान्जानिया र घाना गरी पाँच देशलाई परियोजना प्रदान गरेका थिए। दोस्रो चरणका लागि पनि नेपाल पुनः चयन गरिएको एनओसीले जनाएको छ।





