
काठमाडौं, मंसिर ३ गते ।
न्युजिल्यान्डको अकल्यान्डमा हुने ‘उसु हिरोज’ पहिलो अन्तर्राष्ट्रिय आमन्त्रण उसु प्रतियोगितामा सहभागी हुन नेपाली ४ खेलाडी बुधबार प्रस्थान गरेका छन्। नोभेम्बर २२ देखि २३ तारिखसम्म हुने प्रतियोगितामा २ पुरुष र २ महिला खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन्।

प्रतिस्पर्धामा विजय सिन्जाली, पासाङ शेर्पा, निमा घर्ती मगर र जुनु स्याङ्बो लामा सहभागी छन्। विजय र निमा दक्षिण एसियाली खेलकुद (साग) का स्वर्ण पदक विजेता तथा राखेपको ‘मिसन–२०२६’ अन्तर्गत राष्ट्रिय टिम तयारीका सदस्य हुन्।
टोलीलाई नेपाल उसु महासंघका उप–महासचिव राजीव महर्जन र मुख्य प्रशिक्षक फत्तबहादुर लामालगायतले एक कार्यक्रममार्फत बिदाइ गरे।
प्रतियोगिता पछि खेलाडीहरू करिब दुई महिनासम्म न्युजिल्यान्डमै प्रशिक्षणमा रहने छन्। उक्त प्रशिक्षणले २०औं एसियाली खेलकुदको तयारीलाई थप सुदृढ बनाउने उप–महासचिव महर्जनले जानकारी दिए।





