११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेवका सबै तयारी पूराविजेतालाई दुई लाख रुपैयाँसम्म पुरस्कार, सहभागीलाई अन्तर्राष्ट्रिय अवसर



नेपालगन्ज । बहुप्रतिक्षित ११औं धारा नेपालगन्ज म्याराथन र नेपालगन्ज कनक्लेव का तयारी पूर्ण भएको आयोजकले जनाएको छ । यस वर्ष म्याराथनका विजेताहरूका लागि आकर्षक नगद पुरस्कार तथा अन्तर्राष्ट्रिय म्याराथनमा सहभागी हुन सकिने अवसरसमेत प्रदान गरिनेछ ।

पुरुष खुल्ला म्याराथनमा उच्चतम २ लाख पुरस्कार

४२.१९५ किलोमिटर दूरीको पुरुष खुल्ला म्याराथनतर्फ विजेताले २ लाख रुपैयाँ, पदक, प्रमाणपत्र र ट्रफी प्राप्त गर्नेछन् ।
दोस्रो, तेस्रो, चौथो, पाँचौँ र छैटौँ स्थान हासिल गर्नेले क्रमशः १ लाख, ५० हजार, २५ हजार, १५ हजार र १० हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
शीर्ष १० भित्र पर्नेलाई ५ हजार रुपैयाँ प्रदान गरिनेछ ।

रेस डाइरेक्टर चन्द्रबहादुर गुरुङका अनुसार दौड पूरा गर्ने हरेक धावकलाई ५ हजार रुपैयाँसहित पदक र प्रमाणपत्र दिइनेछ ।
भेट्रान ४५ वर्षमाथिका खेलाडीमध्ये शीर्ष तीनले २५ हजार, १५ हजार र १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

महिला हाफ म्याराथन

२१ किलोमिटर महिला हाफ म्याराथनतर्फ पहिलो, दोस्रो र तेस्रो स्थानका खेलाडीले क्रमशः
७५ हजार, ५० हजार र २५ हजार रुपैयाँ पाउनेछन् ।
चौथो र पाँचौँले १५ हजार र १० हजार प्राप्त गर्नेछन् ।

अन्य विधामा पनि पुरस्कार

१० किमी खुला पुरुष/महिला: २५ हजार, १५ हजार, १० हजार

५ किमी स्कुल स्तरीय दौड (छात्र/छात्रा): ५ हजार, ३ हजार, २ हजार + पदक/प्रमाणपत्र

ह्वीलचेयर दौड: ५ हजार, ३ हजार, २ हजार

किड्स रन: सबैलाई पदक

कर्पोरेट रन: पदक, प्रमाणपत्र तथा ‘सरप्राइज उपहार प्याकेज’

‘नेपालगन्ज ट्रफी’ पहिलोपटक

११औं संस्करणदेखि एक स्कूललाई ‘नेपालगन्ज ट्रफी’ प्रदान गरिनेछ ।
स्वस्थ समाज निर्माणमा योगदान र धेरै विद्यार्थी सहभागी गराएको आधारमा उक्त ट्रफी वितरण गरिने आयोजकले जनाएको छ ।

फिपिक्स प्रविधि पहिलोपटक नेपालमा

म्याराथन तथा कनक्लेव सहभागीलाई नयाँ अनुभव दिलाउन फिपिक्स फोटो सिस्टम लागू गरिँदैछ ।
भियतनामको एसीटियुपीले विकास गरेको यस प्रविधिबाट स्क्यानरमार्फत सहभागीको तस्बिर स्वतः ह्वाट्सएपमा पठाइने सुविधा उपलब्ध हुनेछ ।
पहिले यो प्रविधि काठमाडौं२५के र नेपाल इन्टरनेसनल रनिङ कन्फ्रेन्समा मात्र प्रयोग भएको थियो ।

अन्तर्राष्ट्रिय ‘भगिनी सम्बन्ध’ विस्तार

धारा नेपालगन्ज म्याराथनले थाइल्यान्ड, मलेसिया, सिङ्गापुर, भारत, भुटान र बंगलादेशका प्रतिष्ठित म्याराथनसँग भगिनी सम्बन्ध विस्तार गरेको छ ।
यसले नेपाली खेलाडी, स्वयंसेवक तथा साझेदारलाई अन्तर्राष्ट्रिय एक्सपोजर प्राप्त हुने आयोजकको भनाइ छ ।

साझेदार संस्था

कार्यक्रम सफल बनाउन केएल दुगड ग्रुपको धारा तेल, ज्ञान, शिखर प्लाई, ईसेवा र राष्ट्रिय वाणिज्य बैंक प्रमुख साझेदार बनेका छन् ।
नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिका संरक्षकका रूपमा रहेको आयोजकले जनाएको छ ।
राखेप, लुम्बिनी प्रदेश खेलकुद परिषद, नेपाल पर्यटन बोर्ड, वल्र्ड लिंक, वनस्टेप फाउन्डेसन (अमेरिका), नेपाल–अमेरिका फिल्म सोसाइटी (अमेरिका), बाँके–बर्दिया मैत्री समाज (जापान) लगायतका संस्थाले सहकार्य गरेको छ ।

कनक्लेवमा विशिष्ट व्यक्तित्वहरूको उपस्थिति

नेपालगन्ज कनक्लेवमा महानायक राजेश हमाल, मिस नेपाल वर्ल्ड २०२५ लुना लुइटेल, मिस नेपाल वर्ल्ड २०२३ सृच्छा प्रधान, जेनजेड लिडर रक्षा बम, साहित्यकार सुविन भट्टराई, डा. नवराज केसी सहभागी हुनेछन् ।
कनक्लेवमा महानगरको सपना, खेलकुद र राष्ट्रिय एकता, जेनजेड र नेपालको भविष्य, नेपालगन्ज आर्थिक सम्भावना, डिजिटल युगका चुनौती, फाइनप्रिन्ट फिवर, तथा ७७७ च्यालेन्ज डकुमेन्ट्री प्रदर्शन जस्ता सत्र हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्