
काठमाडौं । नेपाल प्रिमियर लिग (NPL) को दोस्रो संस्करणअन्तर्गत आज मंसिर १ गते कीर्तिपुरस्थित TU क्रिकेट मैदानमा हुने खेलका सबै टिकट बिक्री भई सकिएको जानकारी प्राप्त भएको छ। जिल्ला प्रहरी परिसर, काठमाडौंले सार्वजनिक सूचना जारी गर्दै टिकट नभएकाहरूलाई खेलमैदान वरपर भीड नगर्न आग्रह गरेको हो।
प्रहरीका अनुसार सुरक्षा व्यवस्थापन सहज बनाउन तथा भीडभाडबाट हुने सम्भावित जोखिम रोकथामका लागि टिकट नलिएका दर्शकलाई कीर्तिपुर क्षेत्रतर्फ नजान अनुरोध गरिएको छ। शुक्रबारदेखि सुरु भएको प्रतियोगिताले उच्च आकर्षण पाएको भन्दै प्रहरीको तर्फबाट नागरिक दायित्व पालन गरी सहयोग गर्न समेत अपिल गरिएको छ।
जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी प्र.उ. पवन कुमार भट्टाईले जारी गरेको सूचनामा सुरक्षा व्यवस्थापनमा सहयोग पुर्याउन सबैमा आग्रह गरिएको उल्लेख छ।





