
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षमा कञ्चनपुरका नौ वटै स्थानीय तहलाई कृषि पकेट क्षेत्रका रूपमा पहिचान गरेको छ। स्थानीय तहको भौगोलिक विशेषता र उत्पादन क्षमता हेरी बाली तथा पशुपन्छीमा आधारित विशेष कार्यक्रम सञ्चालन गरिएको हो।
कृषि ज्ञान केन्द्र महेन्द्रनगरका सूचना अधिकारी धर्म साउँका अनुसार प्रत्येक स्थानीय तहका लागि ‘विशेष पकेट क्षेत्र कार्यक्रम’ अन्तर्गत रु ४० लाख बजेट विनियोजन गरिएको छ। भीमदत्त नगरपालिकालाई केरा पकेट क्षेत्रको रूपमा घोषणा गरिएको छ।
यसैगरी—
- बेदकोट, शुक्लाफाँटा, पुनर्वास र दोधारा–चाँदनी : आलु पकेट क्षेत्र
- कृष्णपुर नगरपालिका : तरकारी पकेट क्षेत्र
- लालझाँडी गाउँपालिका : दलन पकेट क्षेत्र
- बेलौरी नगरपालिका : तोरी पकेट क्षेत्र
- बेल्डाँडी गाउँपालिका : आलु पकेट क्षेत्र
साउँका अनुसार आलु पकेट क्षेत्रका किसानका लागि कोल्डस्टोरसमेत व्यवस्था गरिएको छ। पुनर्वासमा दुई वटा कोल्डस्टोर संचालनमा छन् भने बेदकोट, दोधारा–चाँदनी र बेल्डाँडीमा पनि कोल्डस्टोर सेवा उपलब्ध छ।
पशुपन्छी उत्पादनतर्फ भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रले पनि यस वर्षका लागि विशेष पकेट क्षेत्र निर्धारण गरेको छ। वरिष्ठ पशु विकास अधिकृत श्यामसिंह खड्काका अनुसार—
- कृष्णपुर, शुक्लाफाँटा, बेल्डाँडी, दोधारा–चाँदनी, भीमदत्त, बेदकोट र पुनर्वास : भैँसीपालन पकेट क्षेत्र
- लालझाँडी गाउँपालिका र बेलौरी नगरपालिका : बाख्रापालन पकेट क्षेत्र
भैँसी तथा बाख्रापालन कार्यक्रमका लागि पुनर्वासमा रु ६० लाख र भीमदत्तमा रु ५० लाख बजेट विनियोजन भएको छ, अन्य पालिकाका लागि रु ४० लाख रहनेछ।
खड्काका अनुसार सम्भावनायुक्त बाली तथा पशुपन्छी उत्पादन क्षेत्रलाई विशेष पकेट क्षेत्र घोषणा गर्दै व्यावसायिक कृषि विकास गर्ने लक्ष्यसहित कार्यक्रम अघि बढाइएको हो।





