सलकपुरमा सुन्तला खाने आकर्षण, पर्यटकको भीड बढ्दो



झापा । पूर्वी नाकाको काँकरभिट्टाबाट करिब ३० किलोमिटर उत्तरतर्फको प्राकृतिक सौन्दर्यले भरिएको सलकपुर यतिबेला पहेँलपुर सुन्तलाले झनै आकर्षक बनेको छ । बोटमै पाकेका सुन्तला स्वाद लिन र रमाइलो अनुभूति कैद गर्न दैनिक रूपमा आन्तरिक तथा बाह्य पर्यटकको भीड बढिरहेको छ ।

इलामको रोङ गाउँपालिका–६ मा अवस्थित सलकपुरका ९० हेक्टर क्षेत्रफलमा सुन्तलाको व्यावसायिक खेती हुँदै आएको छ । लटरम्म झुण्डिएका सुन्तलालाई बोटमै टिपेर खाने, रमाइलो गर्दै फोटो–भिडियो खिच्ने र टिकटक बनाउनुपर्ने लोभले पर्यटक यहाँ आइपुग्ने गरेका छन् ।

हाल सलकपुरका करिब ३० घरमा घरवास (होमस्टे) सञ्चालनमा छन् । प्रत्येक शुक्रबार र शनिवार सबै घरवास भरिने वडाध्यक्ष सत्यम राई बताउँछन् । उनका अनुसार दैनिक करिब एक सयजति आन्तरिक पर्यटक सुन्तलाको स्वाद लिन यहाँ पुग्छन् । इलाम, झापा, मोरङ, सुनसरीदेखि भारतका सिलगढी, दार्जिलिङ र कोलकातासम्मका पर्यटक पनि आकर्षित हुने गरेका छन् ।

सिङ्गो वडा नै व्यावसायिक सुन्तला खेतीका लागि चिनिन्छ । सलकपुर, कुवापानी, जौबारीलगायत क्षेत्र सुन्तलाको उत्पादनका लागि प्रसिद्ध छन् । लामो समयदेखि सुन्तला खेती गर्दै आएका किसान मदन विमली बोटमै प्रतिकेजी रु १३० मा सुन्तला बिक्री गरिरहेका छन् । यस वर्ष तीन वर्ष यताकै राम्रो उत्पादन भएको उनले बताए । आठ रोपनीमा गरिएको खेतीले राम्रो आम्दानी दिएको उनको भनाइ छ ।

“पहिले बारीमै व्यापारीलाई गोलो मूल्यमा दिन्थ्यौँ, अहिले आफ्नै बगानमा बिक्री गर्छौँ,” मदन भन्छन्, “पर्यटकले पनि बोटमै टिपेर खान्छन् अनि पैसा तिर्छन् ।” उनले एक क्विन्टल सुन्तला बिक्री भइसकेको र त्यत्तिनै अझै बगानमा रहेको बताए । पर्यटकलाई बगान प्रवेशका लागि निश्चित नियम रहेको र जथाभाबी टिप्न नपाइने व्यवस्था गरिएको छ ।

सलकपुरका देवेन खड्काले १० रोपनीमा सुन्तलाको व्यावसायिक खेती गरेका छन् । उनका अनुसार सुन्तलाबारीमा घुम्न र गुर्धुम डाँडाबाट सूर्योदय हेर्न आउने पर्यटकहरूको संख्या पनि द्रुत गतिमा बढिरहेको छ । सूर्योदयको मनोहारी दृश्यका कारण पनि सलकपुर लोकप्रिय गन्तव्य बनेको छ ।

दार्जिलिङबाट विसं २००४ मा आएर बसोबास गरेका गौरीलाल लामाले यहाँ पहिलोपटक सुन्तला खेती सुरु गरेका थिए । अहिले उन्नत जातका बिरुवाद्वारा ठूलो परिमाणमा व्यावसायिक उत्पादन भइरहेको छ । “झापाका व्यापारीले बोटमै सुन्तला किनेर लैजान्छन्, बजारको अभाव छैन,” उनी भन्छन् ।

सुन्तला, अलैँची, अकबरे, अम्लिसो, महजस्ता कृषिजन्य उत्पादनले समृद्ध सलकपुर अध्ययनका लागि पनि एक आकर्षण बनेको छ । यहाँ उत्पादन हुने सुन्तला भारतको कोलकातामा हुने वार्षिक सुन्तला महोत्सवमा प्रदर्शन तथा बिक्रीका लागि समेत लैजाने गरिएको वडाध्यक्ष राई बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्