काष्ठकलामा दक्ष भीमबहादुर : कालिका मन्दिर क्षेत्र रूपान्तरणमा तीन वर्षदेखि समर्पित



बागलुङ । बागलुङ नगरपालिका–३ खहरेका भीमबहादुर विश्वकर्मा पछिल्ला तीन वर्षयता कालिका मन्दिर क्षेत्रलाई कलात्मक रुपमा सजाउन निरन्तर व्यस्त छन् । मन्दिर पुनर्निर्माणदेखि साना मठहरूलाई ताम्रापत्रले छोप्ने कामसम्म, उनी दैनिक रूपमा हातबाटै काठ कुँदेर धार्मिक संरचनाहरूलाई सुन्दर बनाउन जुटिरहेका छन् ।

गत तीन वर्षमा उनले कालिका मन्दिर परिसरका सत्तल, सचिवालयलगायतका साना संरचनाका झ्याल, ढोका, तोरण, टुँडाल तथा बुट्टाहरूलाई कलात्मक रूप दिँदै आफ्नो समय खर्चे । “तीन वर्षअघि हवनकुण्डलाई कलात्मक बनाउन आएँ, त्यसपछि गणेश मन्दिर, सत्तल, सचिवालयका झ्याल–ढोका बनाउँदै अकलादेवी मन्दिर पुनःनिर्माण सम्पन्न गरें,” भीमबहादुरले भने, “अहिले चण्डीदेवी मन्दिरका लागि प्रयोग हुने काठका सामग्री तयार गर्दैछु ।”

उनका अनुसार तीन वर्षमै कालिका मन्दिर क्षेत्रका छवटा मठ–मन्दिर तथा विभिन्न संरचनामा उनले काठबाट कुँदेका सामग्री जडान गरिएको छ ।

काष्ठकलामा पारङ्गत विश्वकर्मा नेपाली सभ्यता, परम्परा र सांस्कृतिक पहिचान झल्काउने कलामा विशेष दक्ष मानिन्छन् । पछिल्लो पुस्तामा काष्ठकलाप्रतिको आकर्षण घट्दै गएको समय यस्तो सीप बोकेका कारीगर भेटिन नै मुस्किल छ । खर्चिलो र समय धेरै लाग्ने भएकाले परम्परागत ढोकाझ्याल, टुँडालजस्ता काष्ठनिर्मित सामग्रीको प्रयोग नयाँ पुस्ताले कम गर्दै गएको उनी बताउँछन् ।

६३ वर्षीय विश्वकर्माको पूरा जीवन काष्ठकलामै बितेको हो । सात पुस्तादेखि यही पेसामा निरन्तरता आएको उनी सुनाउँछन् । बुबा मोतिलाल विश्वकर्मासँग विभिन्न मन्दिरका आकृति, टुँडाल र झ्याल कुँद्ने काम देख्दै १५ वर्षकै उमेरदेखि उनी काष्ठकला सिक्न थालेका हुन् । “२०४८ सालमा बुवासँगै कालिका मन्दिरको गजुर मिलाउने, झ्याल–ढोका बनाउने काम गरेको थिएँ,” उनले सम्झिए, “बुवाले बनाएका आँखीझ्याल र टुँडाल आज पनि कालिका मन्दिरमा छन् । बुवा बितेको पनि २३ वर्ष भइसक्यो ।”

उनका पुर्खाले बागलुङ, गुल्मी, पर्वत, म्याग्दी लगायत स्थानका दरबार तथा मन्दिर–मठमा काष्ठकलाका उत्कृष्ट कृतिहरू बनाएका थिए । आजकल काष्ठकलामा विद्युतीय तथा कृत्रिम उपकरण प्रयोग भए पनि घरेलु औजारले बनाइएका काठका कलाकृतिको छुट्टै पहिचान र महत्त्व रहेको विश्वकर्माको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्