
कर्णाली । कर्णाली प्रदेश अस्पताल सुर्खेतको सेवा प्रवाह, संरचना तथा जनशक्ति व्यवस्थापनसम्बन्धी विषयमा आइतबार कर्णाली प्रदेशसभाको सामाजिक विकास समितिमा विस्तृत छलफल भएको छ ।
सुर्खेतको वीरेन्द्रनगरमा बसेको बैठकमा प्रदेश सरकारका प्रतिनिधिसहित सम्बन्धित सरोकारवालासँग विचार–विमर्श गरिएको थियो। समितिको कात्तिक २२ गतेको निर्णयअनुसार बोलाइएका सरोकारवालाले अस्पतालको वर्तमान अवस्थाबारे तथ्य प्रस्तुत गरेका थिए।
बैठकमा सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले अस्पतालमा विशेषज्ञ चिकित्सक भर्नाका लागि ठूलो कठिनाइ रहेको भन्दै कर्णालीको भौगोलिक अवस्था र वास्तविकताका कारण विशेषज्ञहरू यहाँ कार्य गर्न इच्छुक नदेखिएको बताए। “सरकारले छात्रवृत्ति र करारमार्फत चिकित्सक पठाउने व्यवस्था गरे पनि मेडिकल अधिकृतभन्दा माथिल्लो तहका चिकित्सक ल्याउन निकै चुनौती छ,” उनले भने।
मन्त्री भण्डारीका अनुसार स्वास्थ्य क्षेत्र पछिल्ला वर्षमा प्राथमिकतामा नपरेको र कोभिडपछि बजेट स्रोत पनि घट्दो क्रममा रहेकोले समस्या झनै बढेको छ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रेमबहादुर घलेले जनशक्ति अभाव र व्यवस्थापनमा कमजोरी रहेको स्वीकारे। प्रदेश सरकारले स्वीकृत गरेको १५० शैय्याको क्षमताबाट ३०० शैय्याको सेवा दिनु परिरहेको उल्लेख गर्दै उनले ९१ जनाले विशेषज्ञ सेवा प्रदान गरे पनि जनशक्ति व्यवस्थापनका लागि बजेट अपुरो रहेको बताए।
प्रदेश अस्पतालका निर्देशक डा. गणेश थापाले ३७ जना आवश्यक विशेषज्ञमध्ये १९ जनामात्र कार्यरत रहेको हुँदा सेवा प्रवाह प्रभावित भएको जानकारी दिए। उनले आवश्यक पर्ने चार–पाँच हजार केभिएमध्ये करिब एक हजार केभिए विद्युत् क्षमता मात्र उपलब्ध हुँदा आपूर्ति बाधित हुने गरेको गुनासोसमेत गरे।
समितिका सभापति पूर्णबहादुर खत्रीका अनुसार बैठकमा जनशक्ति अभाव, पदपूर्ति, कार्यकुशलता, सेवा प्रवाहमा देखिने ढिलासुस्ती तथा सुधारका उपायबारे विस्तृत छलफल गरिएको थियो।





