
झापा । पूर्व–पश्चिम राजमार्गको उत्तर क्षेत्रमा हात्तीको बथान प्रवेश गरेपछि डिभिजन वन कार्यालय झापाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गस्ती र माइकिङमार्फत सर्वसाधारणलाई सावधानी अपनाउन अनुरोध गर्दै कार्यालय सक्रिय रूपमा सूचना प्रवाह गरिरहेको छ ।
डिभिजन वन कार्यालयका प्रमुख भरतबाबु श्रेष्ठका अनुसार मोरङको जंगल क्षेत्रबाट २५ देखि ३० वटाको समूहमा बच्चासहितको हात्तीको बथान झापा भित्रिएको हो । बथानको आवाजाइबारे स्थानीयलाई जानकारी गराउँदै सचेत रहन आग्रह गरिएको उनले बताए ।
उनका भनाइअनुसार डेढ वर्षअघि बाहुनडाँगीको प्रसाद गौँडा हुँदै ५०–६० वटाको हात्तीको ठूलो बथान नेपाल प्रवेश गरेको थियो । तीमध्ये करिब ३० वटा हात्ती एक वर्षअघि भारत फर्किएको र बाँकी मोरङ–सुनसरीतर्फ रहेकामा अहिले ती नै पुनः भारततर्फ फर्कने क्रममा झापामा देखिएको बताए ।
श्रेष्ठले जनधनको क्षति हुन नदिन रातिको समयमा गस्ती र माइकिङलाई थप प्रभावकारी बनाइएको उल्लेख गरे । हात्ती हाल शिवसताक्षीधामअन्तर्गत रतुवामाई वृक्षारोपण वन क्षेत्रमा रहेको पनि उनले जानकारी दिए ।
उनका अनुसार हात्ती दिनभर सामुदायिक वनमा बस्ने तर राति मात्र चलायमान हुने गर्छन् । बाहुनडाँगीको प्रसाद गौँडा हुँदै आज वा भोलिसम्म बथान भारत फर्कने अनुमान गरिएको वन कार्यालयले जनाएको छ ।





