कास्की प्रहरीले जेनजी प्रदर्शनको लुटपाटमा संलग्न व्यक्तिको विवरण माग्यो



पोखरा । भदौ २३ र २४ गते भएको जेनजी प्रदर्शनका क्रममा देखिएका तोडफोड, आगजनी र लुटपाटका घटनामा संलग्न व्यक्तिहरूको पहिचानका लागि कास्की जिल्ला प्रहरी कार्यालय सक्रिय बनेको छ।

सरकारी कार्यालय, व्यावसायिक प्रतिष्ठान र निजी सम्पत्तिमा भएको तोडफोड तथा लुटपाटका भिडियो सार्वजनिक गर्दै प्रहरी प्रशासनले ती दृश्यमा संलग्न देखिएका व्यक्तिहरूको पहिचान गरिदिन सर्वसाधारणसँग आग्रह गरेको छ। पहिचान गर्न सकेमा सम्बन्धित व्यक्तिको नाम, ठेगाना र सम्पर्क नम्बर उपलब्ध गराउन अनुरोध गरिएको छ।

कार्यालयका सूचना अधिकारी तथा नायब उपरीक्षक हरिबहादुर बस्नेतका अनुसार, सूचना दिने व्यक्तिको गोपनीयता पूर्ण रूपमा सुरक्षित राखिने छ। ‘आन्दोलनका नाममा आपराधिक कार्यमा संलग्न व्यक्तिको पहिचानमा सहयोग पुग्ने उद्देश्यले भिडियो सार्वजनिक गरेका हौँ,’ उनले बताए।

जेनजी प्रदर्शनका क्रममा आपराधिक गतिविधिमा संलग्न केही व्यक्तिहरू पक्राउ परिसकेका छन्। किटानी जाहेरी तथा उजुरीका आधारमा हालसम्म ३८ जना नियन्त्रणमा परेका छन् र तिनीहरूविरुद्ध आपराधिक उपद्रव मुद्दामा अनुसन्धान जारी छ। प्रदर्शनका बेला लुटिएका केही हतियार पनि प्रहरीले बरामद गरेको जनाएको छ।

गण्डकी प्रदेशको राजधानी पोखरामा भएका आगजनी र तोडफोडका घटनाले ठूलो क्षति पुर्‍याएको छ। कास्की, तनहुँ, नवलपुर, पर्वत, बागलुङ, म्याग्दी र स्याङ्जा गरी सात जिल्लाभरका १३८ सरकारी कार्यालय र ६१ निजी संरचनामा क्षति पुगेको छ। प्रदेशभर झन्डै पाँच अर्ब रुपैयाँबराबरको क्षति भएको जनाइएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेशभित्र ३६१ वटा दुईपाङ्ग्रे सवारीसाधनमा आगजनी, ७ वटा तोडफोड र ३ वटा हराएका छन्। त्यस्तै १६१ वटा चारपाङ्ग्रे सवारीसाधनमा आगजनी र ३१ वटा तोडफोड भएका छन्। घटनाक्रमका क्रममा तीन जनाको मृत्यु भएको र सुरक्षाकर्मी तथा प्रदर्शनकारी गरी ७० जनाभन्दा बढी घाइते भएका छन्।

प्रतिक्रिया दिनुहोस्