
पर्वत । सुन्तलाखेतीका लागि पकेट क्षेत्रका रूपमा परिचित मोदी गाउँपालिका–२ देउपुरमा पछिल्ला वर्ष सुन्तलाका बोट mass सुकेका छन् । जलवायु परिवर्तनका असर, बढ्दो तापक्रम र रोग–कीराको संक्रमणका कारण बोटहरू मर्न थालेपछि किसानहरू वैकल्पिक खेतीतर्फ मोडिन बाध्य भएका छन् ।
धान, कोदो, मकैजस्ता परम्परागत बाली त्यागेर सुन्तला रोपेका किसान अहिले केरा, कफी, अम्बा, अदुवा, बेसार र कोदोखेतीमा लागेका छन् । कुनै समय पाँच सयभन्दा बढी सुन्तलाका बोटबाट राम्रो आम्दानी गर्ने ७३ वर्षीय टीकाराम जैसी अहिले सुन्तलाखेती पूर्णतः छाडेर मौरीपालन र अदुवा–बेसारखेतीमा निर्भर छन् । उनका सुन्तला बगैँचा अहिले सुक्का बोट र झाडीले ढाकिएका छन् ।
समस्या बढेपछि उन्होंने कृषि ज्ञान केन्द्र र गाउँपालिकाका प्राविधिकसँग सहयोग मागे । काठमाडौँमा गरिएको परीक्षणले ‘सिट्रस ग्रिनिङ’ रोगको संक्रमण पुष्टि गरेपछि उनले सुन्तलाखेती त्यागेको बताए ।
सात रोपनीमा सुन्तला खेती गर्दै आएकी डिलकुमारी तिमिल्सिनाले पनि बोटहरू क्रमशः मरेपछि केरा, कोदो र अदुवा लगाउन थालेकी छन् । घरअगाडिका सबै सुन्तलाका बोट मरेपछि ती बोटका दाउरा प्रयोग गर्नुपरेको उनले बताइन् । लामो समयदेखि व्यावसायिक सुन्तलाखेती गर्दै आएका किसान विस्थापित हुँदै गएको स्थानीय दाताराम चापागाईंले जानकारी दिए ।
विगतमा वार्षिक पाँच करोड रुपैयाँभन्दा बढीको सुन्तला बिक्री हुने देउपुरमा अहिले मुश्किलले दुई करोडसम्म आम्दानी हुने अनुमान छ । लाखौँ लगानी डुब्ने अवस्था आएपछि किसानहरू चिन्तित बनेका चापागाईं बताउँछन् ।
मोदी गाउँपालिकाको कृषि शाखा प्रमुख स्मृति तिमिल्सिनाका अनुसार ‘क्यान्डीडट्स लिबेरीब्याक्टर एसिअटिकस’ नामक ब्याक्टेरियाले बगैँचा नष्ट गरेको हुनाले अब त्यहाँ अम्लीय फलफूल उत्पादन सम्भव छैन । पातमा पहेँलो–हरियो मिसिएको रङ, फल सानो र बाङ्गिनु, गुणस्तर घट्नु र बीउ असमान बन्नु यी रोगका प्रमुख लक्षण भएको उनको भनाइ छ । यस्ता रुखलाई तुरुन्तै उखेलेर नष्ट गर्नैपर्ने उनले सुझाइन् ।
उनका अनुसार देउपुरमा अम्लीय फलफूलको सट्टा केरा, कफी, कोदो, अदुवा, अम्बा र बेसारजस्ता बाली उपयुक्त मानिन्छन् । करिब १५० परिवारले व्यावसायिक रूपमा सुन्तला खेती गर्दै आएको यो क्षेत्रमा समस्यासँगै किसानको आकर्षण क्रमशः घट्दै गएको स्थानीय भूमिराज शर्माले बताए ।





