
नेपाली अल्ट्रा धाविका सुनमाया बुढा आइतबार नेपाल एडभेन्चर रनिङ महासंघबाट नगदसहित सम्मानित भएकी छन्। महासंघले सादोबाटोस्थित केन्द्रिय कार्यालयमा आयोजित कार्यक्रममा उनलाई ५० हजार रुपैयाँ नगद तथा प्रशंसा पत्र प्रदान गरेको हो।

सुनमायाले केही समयअघि स्पेनमा सम्पन्न वल्र्ड माउन्टेन एन्ड ट्रेल रनिङ च्याम्पियनसिपमा महिला लङ डिस्ट्यान्स (८२ किलोमिटर) मा ऐतिहासिक रजत पदक जितेकी थिइन्— यो च्याम्पियनसिपमा नेपालका लागि पहिलो पटक जितिएको पदक पनि हो।
सम्मान कार्यक्रममा महासंघका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषद्का पूर्व कार्यकारी सदस्य एकेन्द्रबहादुर कुँवर र वरिष्ठ उपाध्यक्ष राजन खत्रीले संयुक्त रूपमा पुरस्कार प्रदान गरे। अध्यक्ष कुँवरले उत्कृष्ट प्रदर्शनका आधारमा सरकारले गर्ने सम्मान प्रक्रियालाई अघि बढाइने बताए।
सुनमायाले प्राप्त सम्मानले आफूलाई थप प्रेरणा मिलेको बताउँदै आगामी प्रतियोगितामा अझ राम्रो गर्ने प्रतिबद्धता व्यक्त गरिन्।
उनी नोभेम्बर २२ मा दक्षिण अफ्रिकाको केप टाउनमा हुने १०० किलोमिटर अल्ट्रा ट्रेल रेसमा समेत प्रतिस्पर्धा गर्दैछिन्। महासंघले उनको सफलताका लागि शुभकामना व्यक्त गरेको छ।





