
रेडियन्ट पब्लिक बोर्डिङ स्कुलको आयोजनामा हुने ११औँ रेडियन्ट कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा ४९ टिमले सहभागिता जनाउने भएका छन्। प्रतियोगिता सोमबारदेखि सुरु हुँदैछ।
रेडियन्टका प्रिन्सिपल सूर्यबहादुर केसीका अनुसार ३ विधामा ४९ टिमको सहभागिता निश्चित भएको छ। सिनियर ब्वाइजमा २५ टिम तथा जुनियर ब्वाइज र सिनियर गल्र्समा समान १२–१२ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गर्नेछन्।
सिनियर ब्वाइजलाई ८ समूहमा र जुनियर ब्वाइज तथा सिनियर गल्र्सलाई ४ समूहमा विभाजन गरिनेछ। सिनियर ब्वाइजतर्फ प्रत्येक समूहका विजेता र उपविजेता प्रिक्वार्टरफाइनलमा प्रवेश गर्नेछन् भने बाँकी दुई विधामा समूह विजेता र उपविजेता क्वार्टरफाइनलमा पुग्नेछन्।
प्रतियोगिता सञ्चालनमा करिब ४ लाख रूपैयाँ खर्च हुने संयोजक दिलिप कार्कीले बताए। मंसिर १० गतेसम्म चल्ने प्रतियोगिता स्युचाटारस्थित आयोजककै कोर्टमा खेलाइनेछ।
पत्रकार सम्मेलनमा रेडियन्टकी भाइस प्रिन्सिपल सुभद्रा कुँवर, आईटी इन्चार्ज विनोद कार्की तथा प्रोग्राम को–ओर्डिनेटर वर्षाकुमारी आचार्यको उपस्थिति थियो।





