
काठमाडौं, कात्तिक ३० गते ।
आयोजक ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टीआईए) र भ्याली पब्लिकले १७औँ टीआईए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा आइतबार उपाधि जितेका छन्। टीआईए ब्वाइजतर्फ विजेता बन्दा गल्र्सतर्फ भ्याली पब्लिक च्याम्पियन बन्यो।
हात्तीगौडास्थित घरेलु कोर्टमा भएको ब्वाइजको रोमाञ्चक फाइनलमा टीआईएले निम्सलाई ४०–३७ ले पराजित गर्यो। टीआईएका सुमन नगरकोटीले १५ अंक योगदान दिए। यस समूहमा विल्सन एकेडेमी तेस्रो भयो।
गल्र्सतर्फ भ्याली पब्लिकले चेल्सी वर्ल्ड स्कूललाई २५–१५ ले हराउँदै उपाधि हात पार्यो। भ्याली पब्लिककी लोरिशा गौचनले १२ अंक जोडिन्। ग्रिनल्यान्ड तेस्रो रह्यो।
फाइनलका सर्वाधिक स्कोरकर्ताद्वय सुमन र लोरिशालाई आफ्ना विधामा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषणा गरियो।
विजेताहरूलाई प्रदेश खेलकुद विकास परिषद्, बागमती प्रदेशका सदस्य–सचिव दीपक लामा, टीआईएका निर्देशक कर्मा सोनाम वाङ्दी शेर्पा, प्रिन्सिपल निरा प्रधानलगायतले पुरस्कार प्रदान गरे। प्रतियोगितामा ब्वाइजको २४ र गल्र्सको १६ सहित ४० टिमले प्रतिस्पर्धा गरेको टीआईएका ईसीए/सीसीए प्रमुख उज्ज्वल रिजालले जानकारी दिए।





