मुग्लिन–पोखरा सडक विस्तार : अपाङ्गता–मैत्री संरचना नहुँदा गुनासो बढ्यो



तनहुँ । विस्तारको अन्तिम चरणमा पुगेको मुग्लिन–पोखरा सडकखण्ड अपाङ्गता भएका व्यक्तिहरूका लागि अनुकूल नबनेको गुनासो बढिरहेको छ । विशेषगरी तनहुँ सदरमुकाम दमौली बजार क्षेत्रमा दृष्टिविहीन, शारीरिक अपाङ्गता भएका व्यक्ति तथा ह्वीलचेयर प्रयोगकर्तालाई हिँडडुलमा कठिनाइ भएको उनीहरूले बताएका छन् ।

शनिबार अपाङ्गता भएका व्यक्तिहरूले दमौली बजारको सडक संरचना परीक्षण गर्दा जेब्राक्रसिङ, फुटपाथ तथा पहुँच सुविधा आवश्यक मापदण्डअनुसार नभएको निष्कर्ष निकाले । तनहुँ नेत्रहीन संघका अध्यक्ष विराजमान कुमालले दृष्टिविहीन व्यक्तिका लागि सडक सुरक्षित र अनुकूल नहुँदा दैनिक आवतजावतमै जोखिम बढेको बताए । रिसेड तनहुँका महासचिव किशोर न्यौपानेले सडक निर्माणसँगै जेब्राक्रसिङ, टेक्स्टाइल (ट्याक्टाइल) र अन्य संरचनामा सुधार गर्नुपर्ने आवश्यकता रहेको बताए ।

व्यास नगरपालिका अपाङ्गता सहायता कक्षका कर्मचारी तथा ह्वीलचेयर प्रयोगकर्ता कृष्ण थापाले धेरै स्थानमा जेब्राक्रसिङ भए पनि त्यसवरिपरि पहुँचयुक्त अवस्था नहुँदा प्रयोग नै असम्भवजस्तो भएको बताए । “जेब्राक्रस छ तर ह्वीलचेयर चलाएर त्यसमा पुग्नै मिल्दैन,” थापाले भने ।

अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियानले मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत दमौलीमा बनेका जेब्राक्रस र फुटपाथलाई अपाङ्गता–मैत्री बनाउन माग गर्दै हालै सम्बन्धित निकायलाई ज्ञापनपत्र बुझाएको छ । अभियानका संयोजक मदन पौडेलका अनुसार दुर्गामन्दिरदेखि बुल्दीखोला सडकखण्डको अनुगमनमा धेरै संरचना मापदण्डअनुरूप नभएको पाइएपछि तत्काल सुधारका लागि माग गरिएको हो ।

अनुगमनमा जिल्ला प्रहरी कार्यालयदेखि तरकारी लाइनसम्मको फुटपाथ अत्यधिक भिरालो देखिएको, तरकारी लाइनदेखि सफासडकसम्मको फुटपाथ पनि ह्वीलचेयर तथा सेतोछडी प्रयोगकर्ताका लागि असहज हुने गरी बनाइएको पाइएको छ । दुर्गामन्दिर–बुल्दीखोला दुवैतर्फका फुटपाथको बीचभागमा बिजुलीका पोल राखिएका कारण सेतोछडी प्रयोगकर्ताले प्रयोग गर्ने टेक्स्टाइल सिधै पोलमा ठोक्किने गरी अवरुद्ध भएको गुनासो छ ।

सफासडक चोक, बागबजार र बुल्दीखोला पुल नजिक रहेको जेब्राक्रसमा सडक पार गर्न नमिल्ने गरी डिभाइडर राखिएको तथा फुटपाथमा उक्लने र्याम्प निर्माण नगरिएको पनि अभियानले जनाएको छ । साथै सडकछेउका नालीमा राखिएका स्लाबबीच ठूलो फोहोर–ग्याप रहँदा दुर्घटनाको जोखिम बढी रहेको अपाङ्गता अधिकारकर्मी पौडेलले बताए ।

अपाङ्गता भएका व्यक्तिहरूको साझा मञ्चका रूपमा सक्रिय ‘अपाङ्गता भएका व्यक्तिहरूका लागि पहुँचयुक्तता अभियान तनहुँ’ ले जनचेतना, पैरवी र सञ्जालीकरणमार्फत जिल्लामा अपाङ्गता भएका व्यक्तिहरूको हकहितमा निरन्तर काम गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्