खकुवाखोलामा झोलुङ्गे पुल बनेपछि स्थानीयको पुस्तौँदेखिको समस्या समाधान



भोजपुर । काठको फड्केबाट जोखिम मोलेर खकुवाखोला तर्दै आएका भोजपुरबासीका लागि झोलुङ्गे पुल निर्माणसँगै वर्षौँदेखिको समस्या अन्त्य भएको छ। षडानन्द नगरपालिका–७ र ११लाई जोड्ने खकुवाखोलामा ८० मिटर लामो झोलुङ्गे पुल बनेपछि दैनिक आवतजावत सहज भएको स्थानीयले बताएका छन्।

बर्खायाममा खोलाको पानी बढ्दा तर्न नसक्नुका साथै कतिपय दिन खेतमै रात कटाउनुपर्ने अवस्थासमेत आउने गरेको स्थानीय चतुरमाया मगरले बताइन्। तीव्र भेलका कारण काठको फड्के बग्ने जोखिम भइरहँदा खेतीपातीका काममा ठूलो कठिनाइ हुने गरेको उनले स्मरण गराइन्। “अब खोलापारि जान फड्केमाथि जोखिम मोलेर हिड्नुपर्ने अवस्थाको अन्त्य भएको छ,” उनले भनिन्।

झोलुङ्गे पुल बनेसँगै स्थानीयको दैनिकी सहज र सुरक्षित भएको दीपबहादुर मगरले बताए। विशेषगरी बर्खायाममा अत्यधिक समस्या हुने गरेको उनले उल्लेख गर्दै, “पुल बनेपछि दुई वडाका सबै नागरिक प्रत्यक्ष रूपमा लाभान्वित भएका छन्,” भने।

खकुवाखोलामा निर्माण भएको यो पुल रु ४८ लाख १२ हजार ८२५ लागतमा उपभोक्ता समितिमार्फत सम्पन्न भएको निर्माण उपभोक्ता समितिका अध्यक्ष मनिकुमार तामाङले जानकारी दिए। स्थानीयको दीर्घकालीन समस्या समाधान गर्ने लक्ष्यका साथ पुल निर्माण गरिएको षडानन्द नगरपालिकाका प्रमुख सुरेन्द्रकुमार उदासले बताए। उनले नगरक्षेत्रका आवश्यक अन्य झोलुङ्गे पुलहरूको विवरण संकलन गरी योजनाबद्ध रूपमा निर्माण कार्य अघि बढाइने पनि बताए।

प्रतिक्रिया दिनुहोस्