
काठमाडौँ । चालु आर्थिक वर्ष सुरु भएको चार महिना पूरा भइसके पनि देशका २५ स्थानीय तहले अझै आफ्नो वार्षिक बजेट सार्वजनिक गर्न सकेका छैनन्। कुल ७५३ मध्ये ७२८ स्थानीय तहले बजेट प्रस्तुत गरिसके पनि बाँकी २५ तह भने अहिलेसम्म बजेटविहीन अवस्थामा छन्।
संवैधानिक व्यवस्थाअनुसार संघीय सरकारले जेठ १५, प्रदेश सरकारले असार १ र स्थानीय तहले असार १० भित्र बजेट पेस गर्नुपर्ने प्रावधान छ। तर मधेश प्रदेशमा मात्रै १३६ स्थानीय तहमध्ये ११२ ले मात्र बजेट ल्याएका छन् भने २४ तहले अझै सार्वजनिक गर्न बाँकी छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार मधेश प्रदेशका सप्तरीका राजविराज नगरपालिका, अग्नीसाइर कृष्णासवरण गाउँपालिका, बलान बिहुन गाउँपालिका र कल्याणपुर नगरपालिका बजेट पेश गर्न बाँकी स्थानीय तह हुन्।
यस्तै, सिराहामा धनगढीमाई नगरपालिका र सुखीपुर नगरपालिका, धनुषामा क्षिरेश्वरनाथ नगरपालिका, नगराइन नगरपालिका, औरही गाउँपालिका, कमला नगरपालिका र जनकनन्दिनी गाउँपालिका बजेटविहीन छन्।
त्यसैगरी धनुषाकै धनौजी गाउँपालिका, महोत्तरीको सोनमा गाउँपालिका, सर्लाहीको हरिवन नगरपालिका, चन्द्रनगर गाउँपालिका र रामनगर गाउँपालिका पनि बजेट ल्याउन नसकेका हुन्।
रौतहटमा कटहरिया नगरपालिका, देवाही गोनाही नगरपालिका, फतुवा विजयपुर नगरपालिका र यमुनामाइ गाउँपालिका; बारामा महागढीमाई नगरपालिका र विश्रामपुर गाउँपालिका; पर्सामा पकाहा मैनपुर गाउँपालिका पनि चालु आवको बजेट हालसम्म प्रस्तुत गर्न नसकेका स्थानीय तहमा परेका छन्।
मधेश प्रदेशका बाहिर, लुम्बिनी प्रदेशको शुद्धोधन गाउँपालिकाले समेत अहिलेसम्म चालु आवको बजेट सार्वजनिक गरेको छैन।





