
काठमाडौं । कार्तिक २९, २०८२
केबी साम नेपाल कबड्डी लिग (एनकेएल) ले वुमेन्स कबड्डी वल्र्डकप २०२५मा सहभागी हुन तयारी अवस्थामा रहेको नेपाली राष्ट्रिय महिला टिमलाई ट्रयाकसुटलगायत आवश्यक खेल सामग्री प्रदान गरेको छ ।

आगामी सोमबारदेखि बंगलादेशमा सुरु हुने वल्र्डकपमा सहभागी हुनुअघि राजधानीमा आयोजित कार्यक्रममा एनकेएलका आयोजक एस्ट्रोनिक्स म्यानेजमेन्टका प्रमुख अमितकुमार बेगानीले टिम कप्तान मानमती विष्टसहित १७ सदस्यीय टिमलाई ट्रयाकसुट, ब्याग, सुज लगायत सामग्री हस्तान्तरण गरेका हुन् ।
टिममा कप्तान मानमती विष्ट, उपकप्तान जयन्ती बडु, मेनुका कुमारी राजवंशी, रबिना चौधरी, मीना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, सृजना कुमारी थारु, सृजना धानुक, मनिषा जोशी, उरुषा शाक्य, आश्मा यादव, विनिता पण्डित क्षत्री र सन्जु थामी समावेश छन् । टिमलाई मुख्य प्रशिक्षक विष्णुदत्त भट्ट, सहायक प्रशिक्षक हरिना थापा र व्यवस्थापक शरद दर्शनधारीले नेतृत्व गर्नेछन् । यसैगरी रमेशचन्द्र ओझा निर्णायकका रूपमा बंगलादेश जानेछन् ।
बेगानी ग्रुपअन्तर्गतको एस्ट्रोनिक्स म्यानेजमेन्टले नेपाल कबड्डी संघको स्वीकृतिमा गत वर्ष केबी साम एनकेएलको पहिलो संस्करण सफलतापूर्वक आयोजना गरेको थियो । संघसँग १० वर्षे सम्झौताअनुसार फ्रेन्चाइज मोडेलमा सञ्चालन हुने एनकेएलको दोस्रो संस्करणका लागि अहिले तयारी तीव्र छ । यसपटक ५ सय १२ जना नेपाली खेलाडीले नाम दर्ता गराएका छन्, जुन गत वर्षको तुलनामा करिब दोब्बर हो ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भएको पहिलो सिजनको फाइनलमा काठमाडौंलाई ४३–४१ ले पराजित गर्दै जनकपुर च्याम्पियन बनेको थियो । सो संस्करणका कप्तान घनश्याम मगर (काठमाडौं) र गणेश पार्की (हिमालयन रेइडर्स) अहिले भारतको प्रो कबड्डी लिग (पीकेएल) सिजन १२ मा व्यस्त छन् । एनकेएल सिजन २ को ड्राफ्ट तथा प्रतियोगिताको मिति चाँडै सार्वजनिक गरिने एनकेएलले जनाएको छ ।





