
काठमाडौँ । काठमाडौं महानगरपालिकाले सहरलाई सुरक्षित, स्वचालित र व्यवस्थित बनाउने लक्ष्यसहित प्रविधिमैत्री व्यवस्थापनका लागि नेपाल टेलिकमसँग सहकार्य अगाडि बढाएको छ । महानगरको क्षेत्रमा जडान गरिने सिसीटिभी क्यामराबाट प्राप्त दृश्य सुचारु रूपमा निगरानी कक्षसम्म पुर्याउन टेलिकमको नेटवर्क प्रयोग गरिनेछ।
कामपाको प्रशासन विभागका प्रमुख धुव्रकुमार काफ्लाका अनुसार वडा कार्यालयहरूमा सिसीटिभी नेटवर्कका लागि आवश्यक पर्ने अप्टिकल फाइबर र एफटिटीएच (फाइबर टु द होम) मार्फत लोकल इन्टरनेट उपलब्ध गराउने विषयमा टेलिकमसँग सहकार्य सुरु गरिएको हो।
यसअन्तर्गत कामपा र नेपाल टेलिकमबीच सम्झौता भइसकेको छ । सो सम्झौताअनुसार सिसीटिभी क्यामरामा कैद भएका दृश्यलाई प्रत्येक निगरानी कक्ष (सर्भेलेन्स रुम)सम्म पुर्याउने दायित्व टेलिकमले लिनेछ। साथै, नियमित मर्मतसम्भार, आकस्मिक क्षतिको पुनःस्थापना, प्राविधिक सहयोग, नेटवर्कको निगरानी, सेवा अवरुद्ध हुँदा समस्याको पहिचान तथा समाधान लगायतका सेवाहरू पनि टेलिकमले प्रदान गर्नेछ।
सिसीटिभी क्यामरा, राउटर तथा आवश्यक उपकरणहरू महानगरपालिकाले व्यवस्थापन गर्नेछ भने आवश्यकताअनुसार टेलिकमले उच्च गतिका व्याण्डविथ र प्रविधिको अद्यावधिक सेवा उपलब्ध गराउनेछ।
स्मार्ट सिटी निर्माणतर्फ महत्वपूर्ण कदमका रूपमा अघि बढाइएको यो सहकार्य अन्तरसरकारी समन्वयमार्फत प्रभावकारी परिणाम दिने विश्वास कामपाका अधिकारीहरूको छ। महानगरका सूचना प्रविधि विभाग प्रमुख अनिरुद्र नेपालका अनुसार, टेलिकमसँग पहिल्यै विद्यमान अप्टिकल फाइबर संरचना भएकाले पहिले जडान गरिएका सिसीटिभीहरूको दृश्य पनि सहजै प्राप्त गर्न सकिनेछ।
सहरका सार्वजनिक स्थल, वडा कार्यालय र अन्य मागअनुसार जडान गरिएका तथा जडान गरिँदै गरेका सबै सिसीटिभीलाई महानगरले सञ्चालन गर्ने सर्भेलेन्स रुमसँग जोडिनेछ। यसका लागि जिगाबिट प्यासिभ अप्टिकल नेटवर्क (GPON) प्रविधि प्रयोग गरिने बताइएको छ।
यो सहकार्य सहरलाई थप सुरक्षित, व्यवस्थित र प्रविधिमैत्री बनाउने दिशामा कामपाले उठाएको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ।





