शीतलहर सुरु हुनुअघि नै महोत्तरीमा पूर्वतयारी तीव्र



महोत्तरी । जाडो यामसँगै हुने शीतलहरले हरेक वर्ष जनधनमा हानी पुर्‍याउँदै आएको हुँदा महोत्तरीमा यसपालि समयमै व्यवस्थापनका तयारी थालिएको छ । सामान्यतः पुस महिनामा देखापर्ने शीतलहर केही वर्षयता माघअघि नै तीव्र हुने गरेका कारण जिल्लामा पूर्वसचेतना र तयारीका गतिविधि अघि बढाइएको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले जनाएको छ ।

समितिका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार शीतलहरका कारण हुने क्षति रोकथाम गर्न अहिलेबाटै सर्वसम्बन्धित पक्षलाई सक्रिय बनाइँदै छ । “क्षति भएकोपछि व्यवस्थापन कठिन र खर्चिलो हुन्छ, त्यसैले समयमै तयारी अनिवार्य छ,” उनले बताए । यही उद्देश्यअनुसार जिल्लास्थित सबै नगरपालिका, गाउँपालिका, सामाजिक संस्था तथा सरकारी कार्यालयका प्रमुखको सहभागितामा बृहत् बैठक सम्पन्न गरी कार्ययोजना अघि बढाइएको उनले जानकारी दिए ।

समितिले विगतमा शीतलहरपीडितको उद्धार र राहतमा सहयोग गरेका विभिन्न संस्थासँग तत्काल समन्वय गरी शीतलहर व्यवस्थापन योजना तयार पार्ने निर्णय गरेको छ । तयार हुने योजनालाई समितिबाट स्वीकृति दिएर कार्यान्वयनमा लैजाने तयारी भइरहेको अध्यक्ष यादवले बताए ।

गैरसरकारी संस्था र स्थानीय तहलाई पनि शीतलहर प्रतिकार्य योजनाको निर्माण र कार्यान्वयनमा सक्रिय रूपमा संलग्न गराउने समितिको निर्णय छ । बिहीबार सम्पन्न उक्त बैठकमा सहभागी सबै प्रतिनिधिलाई अग्रिम समन्वय र तयारीका काममा जुट्न आग्रह गरिएको प्रमुख जिल्ला अधिकारी यादवले बताए ।

मधेसमा हरेक वर्ष शीतलहरका कारण मानवीय क्षति, स्वास्थ्य जटिलता तथा कृषिबालीमा ठूलो नोक्सानी हुँदै आएको तथ्य उल्लेख गर्दै यसपालि दाउरा लगायत आवश्यक सामग्रीको व्यवस्थापन अग्रिम रूपमा गर्न सम्बद्ध निकायलाई निर्देशन दिइएको छ ।

यसबाहेक समितिले गत असोजको तेस्रो सातामा आएको बाढी तथा डुबानबाट क्षति भएका सार्वजनिक संरचनाको पुनर्निर्माण तत्काल प्राथमिकताका साथ पूरा गर्न जिम्मेवार निकायलाई निर्देशन दिने निर्णयसमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्