समस्याग्रस्त सडक आयोजनाहरू: लक्ष्य म्याद नाघ्दा चुनौती थपिँदै



तनहुँ । तनहुँ जिल्लाका तीन ठूला सडक आयोजनाहरू लामो समयअघि नै निर्माण थालिए पनि तोकिएको समयभित्र काम सम्पन्न हुन नसक्दा ती सबैलाई समस्याग्रस्त परियोजनाको सूचीमा राखिएको छ । गण्डकी प्रदेश सरकारको बजेटमा सञ्चालनमा रहेका यी आयोजनाहरूमा ढिलाइ बढ्दै गएपछि चुनौती थपिएको हो ।

पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रवीन्द्र तिवारीका अनुसार आँबुखैरेनी–छिम्केश्वरी सडक, दुलेगौडा–हर्कपुर सडक र भानुमार्ग–चन्द्रावती–पिलिमार्ग–कुन्छा–कालिमाटी सडकलाई समस्याग्रस्त आयोजनाका रूपमा सूचीकृत गरिएको छ । “लामो समयदेखि निर्माण जारी रहे पनि काम समयमा सम्पन्न नभएकाले निरन्तर निगरानी गर्दै आएका छौँ,” तिवारीले बताए ।


आँबुखैरेनी–छिम्केश्वरी सडक: ९१ प्रतिशत भौतिक प्रगति

आँबुखैरेनी–छिम्केश्वरी सडक (पहिलो खण्ड) कालोपत्रका लागि २०७६ मंसिर ६ गते सम्झौता गरिएको थियो । २०७८ फागुन १३ भित्र काम सक्नुपर्ने म्याद पटक–पटक थपिँदै २०८२ असोजसम्म पुगेको छ ।

  • भौतिक प्रगति: ९१ प्रतिशत
  • वित्तीय प्रगति: ८९ प्रतिशत
  • सम्झौता मूल्य: रु ३६ करोड ५ लाख ५० हजार ५१५
  • भुक्तानी: रु ३१ करोड ९२ लाख ९७ हजार ४४२
  • लम्बाइ: १६ किमी
  • ठेकेदार: एमएस शर्मा काष्ठमण्डप जेभी

गत आर्थिक वर्षमा यसका लागि रु ३ करोड ५० लाख विनियोजन गरिएको थियो ।


भानुमार्ग–चन्द्रावती–पिलिमार्ग–कुन्छा–कालिमाटी सडक: आधामात्रै प्रगति

यो सडक २०७६ कात्तिक ४ गते सम्झौता भएको हो । २०७८ माघ १५ भित्र काम सक्ने भनिए पनि यो खण्डको म्याद पनि पटक–पटक थपिँदै २०८२ चैतसम्म पुगेको छ ।

  • भौतिक प्रगति: ५० प्रतिशत
  • वित्तीय प्रगति: ५० प्रतिशत
  • सम्झौता मूल्य: रु २३ करोड २ लाख ८० हजार ६६१
  • भुक्तानी: रु १० करोड ११ लाख १ हजार ७५०
  • लम्बाइ: १०.१२ किमी
  • ठेकेदार: एमएस शंकरमालि निर्माण सेवा प्रालि

गत आर्थिक वर्षमा यसका लागि रु ३ करोड ५० लाख बजेट विनियोजन गरिएको थियो ।


दुलेगौडा–हर्कपुर सडक: काम अझै अलपत्र

एमएस शंकरमालि निर्माण सेवाले नै ठेक्का लिएको दुलेगौडा–हर्कपुर सडक पनि समयमै अघि नबढेका कारण समस्याग्रस्त सूचीमा परेको छ । २०७६ कात्तिक ४ मा सम्झौता भई २०७८ माघ १५ सम्म पूरा गर्नुपर्ने लक्ष्य म्याद अहिले २०८२ चैतसम्म बढाइएको छ ।

  • भौतिक प्रगति: ५० प्रतिशत
  • वित्तीय प्रगति: ५० प्रतिशत
  • सम्झौता मूल्य: रु २५ करोड ९९ लाख २ हजार ८९५
  • भुक्तानी: रु १३ करोड ४ लाख ११ हजार ७५३
  • लम्बाइ: १०.१८ किमी (स्तरोन्नति)
  • दूरी (सम्पर्क सडक): २३ किमी
  • मार्ग: शुक्लागण्डकी–म्याग्दे–व्यास

गत आर्थिक वर्षमा यसका लागि रु २ करोड बजेट विनियोजन गरिएको थियो ।


तीनै आयोजनामा लगातार म्याद थपिँदा खर्च बढ्ने, यातायात प्रभावित हुने तथा स्थानीयले लामो समयदेखि प्रतिक्षा गरेको आधारभूत सडक सेवाको सुविधा पाउन ढिलाइ हुने अवस्था जारी छ ।

प्रतिक्रिया दिनुहोस्