सुक्खायाम सुरू भएसँगै आगलागीका घटना बढे



काठमाडौँ । देशभर सुक्खायाम सुरु भएसँगै आगलागीका घटनामा उल्लेखनीय वृद्धि भएको देखिएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक २७ गते बिहानदेखि २८ गते बिहान १० बजेसम्म मात्रै सात ठाउँमा आगलागीका घटना दर्ता भएका छन्। मोरङ, सुनसरी, उदयपुर, भक्तपुर, रोल्पा, सुर्खेत र कैलालीमा आगलागीका कारण ठूलो मात्रामा भौतिक क्षति भएको प्राधिकरणले जनाएको छ।

प्राधिकरणका पछिल्ला तथ्यांकअनुसार कात्तिक २७ गते मात्र देशभर १६ स्थानमा आगलागीको घटना भएको थियो। बारा र रुपन्देहीका दुई स्थानमा आगलागी हुँदा क्षति पुगेको छ। त्यस्तै, पाँचथर, झापा, मोरङ, उदयपुर, धनुषा, रौतहट, भक्तपुर, रसुवा, कास्की, स्याङजा, बाग्लुङ र हुम्लामा पनि आगलागीका घटना दर्ता भएका छन्।

यसअघिका दिनहरूमा पनि आगलागीको संख्या उच्च रहँदै आएको छ। कात्तिक २६ गते ११ स्थानमा, कात्तिक २५ गते आठ स्थानमा र कात्तिक २४ गते नौ स्थानमा आगलागीको घटना भएको प्राधिकरणले जनाएको छ। जनचेतनाको कमी र असावधानी नै आगलागीका प्रमुख कारण रहेको प्राधिकरणले बताउँदै सबैलाई सतर्कता अपनाउन आग्रह गरेको छ।

यसैबीच, शुक्रबार ताप्लेजुङमा लेक लागेर तीन जना बिरामी परेका छन्। कञ्चनजङ्घा आधार शिविर जाने क्रममा स्थानीय खामाचेन क्षेत्रमा दुई जापानी पर्यटकले लेकको समस्या भोगेका हुन्। त्यस्तै, आधार शिविरबाट फर्कने क्रममा एक अमेरिकी नागरिकलाई पनि लेक लागेको प्राधिकरणले जानकारी दिएको छ।

मोरङ, सिन्धुपाल्चोक, म्याग्दी र बर्दियामा जनावर आक्रमणका घटना हुँदा तीन जना घाइते भएको पनि प्राधिकरणले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्