
कञ्चनपुर । महाकाली प्रादेशिक अस्पतालमा विशेषज्ञ सेवा विस्तारसँगै बिरामीको चाप तीव्र रूपमा बढेको छ । सिटी स्क्यान लगायतका आधुनिक उपकरणसहितको सेवा सुरु भएपछि उपचारका लागि आउने बिरामीको संख्या दैनिक रूपमा वृद्धि हुँदै गएको अस्पतालले जनाएको छ । रिफरल सेन्टरका रूपमा परिचित महाकाली अस्पतालले हाल २३ जना विशेषज्ञ चिकित्सकमार्फत सेवा प्रदान गर्दै आएको छ।
मेडिसिन, हाडजोर्नी, सर्जरी, स्त्री तथा प्रसूति, रेडियोलोजी, एनेस्थेसियोलोजी र मानसिक रोगसहितका सेवाहरू विस्तार भएपछि बिरामीको आगमन बढेको निमित्त मेडिकल सुपरिटेन्डेन्ट अर्जुन भट्टले जानकारी दिए । उनका अनुसार एक महिना अघि सुरु गरिएको सिटी स्क्यान सेवाले क्यान्सरको प्रारम्भिक पहिचानदेखि गम्भीर चोटपटक, दिमागमा नसा च्यापिने तथा हेमाटोमाजस्ता समस्याको छिटो निदान सम्भव भएको छ । यसले गर्दा भर्ना हुने बिरामी संख्या बढ्दै जाँदा अस्पतालमा शय्या अभाव देखिन थालेको बताइन्छ।
“सिटी स्क्यान सुरु भएपछि जटिल बिरामीको संख्या बढेको छ, भर्ना दर पनि उल्लेख्य रूपमा उच्च भएको छ,” डा. भट्टले भने, “त्यसअनुरूप बेड विस्तारको आवश्यकता परेको छ । यसका लागि सामाजिक विकास मन्त्रालयसँग समन्वय भइरहेको छ।”
अस्पतालले मंसिरदेखि ओपिडी र आकस्मिक कक्षमा छुट्टै अत्याधुनिक एक्स–रे मेसिनमार्फत सेवा सञ्चालन गर्न तयारी गरिरहेको छ । गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्यअनुसार काम अघि बढाइएको भट्टले बताए।
विशेषज्ञ सेवाको विस्तारसँगै स्थानीय बिरामीलाई उपचारका लागि अन्य स्थान धाउनुपर्ने अवस्थाले पनि कमी आएको छ । रेडियोलोजिस्ट सन्तोष आत्रेयका अनुसार सिटी स्क्यान नहुँदा पहिला धेरै बिरामीलाई अन्यत्र रेफर गर्नुपर्थ्यो । “अब अधिकांश बिरामीको उपचार छिटोछरितो रूपमा यहीँ हुन थालेको छ, महेन्द्रनगरमै क्यान्सरको प्रारम्भिक पहिचान सम्भव भएको छ,” उनले बताए।
अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष कृष्णानन्द भट्टका अनुसार विगतको तुलनामा सेवा–सुविधा र विशेषज्ञ संख्या दुवै बढेका कारण अस्पतालप्रति जनविश्वास पनि बढेको छ । “सिटी स्क्यान सेवा सुरु भएपछि बिरामीले ठूलो राहत पाएका छन्,” उनले बताए।
आर्थिक वर्ष २०७९/८० मा ओपिडी सेवाबाट ९१ हजार ५०० र आकस्मिक कक्षबाट ३९ हजार ९१४ बिरामीले सेवा लिएका थिए । सोही अवधिमा ५ हजार बिरामी अस्पतालमा भर्ना भएका थिए । विशेषज्ञ सेवा विस्तारपछि आर्थिक वर्ष २०८०/८१ मा ओपिडी सेवाग्राही संख्या एक लाख नौ हजार पुगेको छ । आकस्मिक कक्षमा ५१ हजार ३०० बिरामी उपचाररत रहे भने ६ हजार ३५६ जना अस्पतालमा भर्ना भएका थिए।
विसं २०२० मा प्राथमिक स्वास्थ्य केन्द्रका रूपमा स्थापना भएको यो अस्पताल २०३१ मा २५ शय्याको जिल्ला अस्पताल, २०४३ मा ५० शय्याको अञ्चल अस्पतालमा स्तरोन्नति भएको थियो । संघीयता कार्यान्वयनसँगै प्रादेशिक अस्पतालका रूपमा विस्तार भएपछि यहाँ विशेषज्ञ सेवा थपिँदै आएको छ ।
हाल अस्पतालमा ११ तहका ४ जना र ९ तथा १० तहका १६ जना विशेषज्ञको दरबन्दी छ । मेडिसिन, हाडजोर्नी, स्त्रीरोग, बालरोग, ईएनटी, एनेस्थेसिया, सर्जरी, रेडियोलोजी र मानसिक रोग गरी नौ विभागमा विशेषज्ञ चिकित्सक कार्यरत छन्।





