
सिरहा । नेपाल नेत्रज्योति संघ र सगरमाथा चौधरी आँखा अस्पताल लहानको सहकार्यमा लहान नगरपालिकाले सञ्चालन गर्दै आएको नियमित आँखा स्वास्थ्य शिविरले तीन वर्षमा दुई हजारभन्दा बढी मोतियाबिन्दु बिरामीको निःशुल्क शल्यक्रिया सम्पन्न गरेको छ।
नगरपालिकाका २४ वटै वडामा सञ्चालन गरिएको शिविरमार्फत हालसम्म १८ हजार ३१७ जनाको आँखा परीक्षण गरिएको छ। तीमध्ये २ हजार ५५३ जनामा मोतियाबिन्दु पत्ता लागेको शिविर प्रमुख राजकुमार यादवले जानकारी दिए। पहचान भएकामध्ये १ हजार ९७७ जनाको शल्यक्रिया भइसकेको छ भने पाँच सयभन्दा बढी बिरामीको खोजी तथा उपचारका लागि प्रक्रिया अघि बढाइएको छ। विशेषगरी ५० वर्षभन्दा माथिका नागरिक मोतियाबिन्दुबाट बढी प्रभावित रहेको पनि यादवले बताए।
शिविर संचालनमा लाग्ने प्रतिव्यक्ति पाँच हजार रुपैयाँ लागतमध्ये आधा खर्च लहान नगरपालिका र आधा अस्पतालले व्यहोर्दै आएका छन्। बिहीबार वडा नं. २४ मा गरिएको शिविरमा ३३५ जनाको परीक्षण हुँदा ९९ जनामा मोतियाबिन्दु भेटिएपछि तत्काल अस्पताल लैजाई शल्यक्रिया गरिएको थियो।
नगर प्रमुख महेशप्रसाद चौधरीले नगरलाई ‘मोतियाबिन्दु मुक्त क्षेत्र’ घोषणा गर्ने लक्ष्यासहित अभियान सञ्चालन भइरहेको बताए। “दियोको मुनि अँध्यारो रहन नदिन, नगरवासीको आँखाको स्वास्थ्यलाई प्राथमिकतामा राखेका छौँ,” उनले भने।
अस्पताल अध्यक्ष रविन्द्रलाल चौधरीले दलित तथा विपन्न वर्गका नागरिकले शिविरबाट प्रत्यक्ष लाभ पाइरहेको उल्लेख गर्दै लहान नगरपालिकाको सहकार्यले सिरहा–सप्तरीका अन्य पालिकामा समेत आँखा रोग निवारण अभियान सशक्त बन्दै गएको बताए।
शिविरमार्फत निःशुल्क परीक्षण र शल्यक्रिया पाएका दलित तथा विपन्न समुदायका नागरिकले लहान नगरपालिका र सगरमाथा चौधरी आँखा अस्पतालप्रति आभार व्यक्त गर्दै प्राप्त सेवा ‘नयाँ जीवन’ जस्तै भएको प्रतिक्रिया दिएका छन्।
नेपाल नेत्रज्योति संघका अनुसार स्थापना यता सन् २०२४ को अन्त्यसम्म संघअन्तर्गतका २८ आँखा अस्पताल र २२६ उपचार केन्द्रमार्फत कुल ४ करोड ६८ लाख ६८ हजार ६० जनाले आँखा उपचार सेवा प्राप्त गरेका छन् भने ५३ लाख ९२ हजार २२४ जनाको आँखा शल्यक्रिया सम्पन्न भइसकेको छ।





