प्रकृति–संस्कृतिको संगम बनेको गाभर भ्याली होमस्टे



बाँके । बाँकेको बैजनाथ गाउँपालिकास्थित गाभर भ्याली सामुदायिक होमस्टे यतिबेला आन्तरिक पर्यटकले भरिएको छ । दसैँ–तिहारजस्ता प्रमुख चाडपर्व सकिएसँगै यहाँ दैनिक रूपमा पर्यटक चहलपहल बढ्दो छ ।

गाभर भ्याली सामुदायिक घरवासका अध्यक्ष कृष्णलाल चौधरीका अनुसार वर्षायाममा सुनसान रहने होमस्टे पछिल्लो समय पर्यटकले गजबै रौनक पाएको छ । पदयात्रा र जङ्गल सफारी मुख्य आकर्षण बनेका कारण बाँके–बर्दियासहित कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका विभिन्न जिल्लाबाट पर्यटकको आगमन बढेको छ ।

छोटो अवधिमै पर्यटकीय पहिचान बनाउन सफल गाभर भ्याली बाँके राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा अवस्थित छ । निकुञ्जभित्रका बाघ, हात्ती, चितुवा लगायतका वन्यजन्तु अवलोकन र हरियाली जंगलको आनन्द लिन येथे आउने पर्यटकको रुचि पछिल्लो समय झनै बढेको अध्यक्ष चौधरी बताउँछन् ।

थारु र मुगाली समुदायले संयुक्त रूपमा सञ्चालन गर्ने गाभर भ्याली होमस्टेमा दैनिक करिब ५०० जना आन्तरिक पर्यटक आउने गरेका छन् । परम्परागत शैलीका घरवाससँगै अहिले ठूलो लगानीका सुविधा सम्पन्न होटलसमेत थपिएपछि सेवाको स्तर अझ उकृष्ट बनिरहेको छ ।

अध्यक्ष चौधरीका अनुसार, गाभर भ्याली होमस्टेले केवल जीविकोपार्जनमा सीमित न रही आयआर्जन, सांस्कृतिक प्रवर्द्धन, प्रकृति संरक्षण र बाघ पर्यटनजस्ता नयाँ अवधारणा अघि बढाउँदै आएको छ । “गाभर भ्याली होमस्टे आन्तरिक पर्यटन प्रवर्द्धनको अग्रणी स्थल बनेको छ,” चौधरी भन्छन्, “यसले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको छ ।”

२०७० सालमा सुरु भएको यो सामुदायिक घरवास अहिले नेपालकै नमूना होमस्टे मानिन्छ । सुरुका दिनमा २०–३० हजार रुपैयाँ पूँजीबाट थालिएको व्यवसायमा अहिले २० लाखदेखि ५० लाख रुपैयाँसम्म लगानी बढिसकेको छ ।

होमस्टे स्थापनापछि स्थानीयको बोलीचाली, जीवनशैली र आर्थिक अवस्थामा उल्लेख्य सुधार आएको अध्यक्ष चौधरी बताउँछन् । होटल व्यवसायी महासङ्घ बाँकेका अध्यक्ष भीम कँडेलका अनुसार, गाभर भ्याली होमस्टे अहिले जीविकोपार्जन मात्र होइन, दिगो आयआर्जनको सशक्त माध्यमका रूपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्