किस्क र एलाइटले ओएसिस कपमा दोहोरो सफलता




काठमाडौं, कात्तिक २९ गते ।
तेस्रो ओएसिस कप उपत्यकाव्यापी अन्तरविद्यालय थ्री बाइ थ्री बास्केटबल प्रतियोगितामा किस्क र एलाइट बास्केटबल एकेडेमीले शनिबार उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधाको उपाधि हात पारेका छन् । किस्कले सिनियर ब्वाइज र जुनियर ब्वाइज दुवै समूहमा च्याम्पियन बनेर दोहोरो उपाधि जित्यो भने एसइइ समूहमा एलाइट विजयी भयो ।

ढोलाहिटीस्थित ओएसिस इङ्लिस स्कुलको कोर्टमा भएको सिनियर ब्वाइज फाइनलमा किस्कले रेडियन्ट पब्लिकलाई १७–१० ले पराजित गर्‍यो । किस्कका ब्रुक्स जेन्सेनले ८ अंक जोडे । जुनियर ब्वाइजको फाइनलमा किस्कले ज्ञानोदयलाई ८–६ ले हरायो, जहाँ किस्कका जय महर्जनले ७ अंक जोड्दै उत्कृष्ट प्रदर्शन गरे ।

एसइइ समूहको उपाधि भिडन्तमा एलाइटले आयोजक ओएसिसलाई १९–१५ ले पराजित गर्‍यो । विजयी टिमका प्रदिन बोहरा ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए । एसइइ समूहका विजेता र उपविजेताले क्रमशः १० हजार र ५ हजार नगद पुरस्कार प्राप्त गरे । अन्य विधामा नगद पुरस्कार राखिएको थिएन ।

सिनियर ब्वाइजमा किस्कका ब्रुक्स र जुनियर ब्वाइजमा किस्ककै जय ‘मोस्ट भेलुएबल प्लेयर’ बने । रेडियन्टका सुसनराज न्यौपाने र ज्ञानोदयका युनिश स्याङ्तान सर्वाधिक स्कोरकर्ता घोषित भए ।

विजयी टिमलाई ओएसिसकी संस्थापक जानुका लिम्बू, कार्यकारी निर्देशक मिनकुमार लिम्बू, प्रिन्सिपल निलम भट्टराई तथा राष्ट्रिय टिमका खेलाडी विनोद महर्जनले पुरस्कार वितरण गरे । प्रतियोगितामा सिनियर ब्वाइजमा १४, जुनियर ब्वाइजमा ६ र एसइइमा ९ टिम सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्