
महोत्तरी – मधेसमा बालविवाह अझै ठूलो सामाजिक समस्या बनेको छ। कानुन र विभिन्न अभियानहरू सञ्चालनमा भए तापनि, तथ्याङ्कले देखाउँछ कि बालविवाह रोक्न अझै चुनौतीपूर्ण अवस्था छ।
राष्ट्रिय जनगणना २०७८ का अनुसार, राष्ट्रिय तथ्याङ्क कार्यालय थापाथली, काठमाडौंले प्रकाशित तथ्याङ्कमा मधेसमा १० वर्षभन्दा कम उमेरमै विवाह हुने घटना समेत पाइएको छ। यद्यपि यस्तो घटनाको प्रतिशत न्यून, केवल ०.२ प्रतिशत रहेको छ। १०–१४ वर्ष उमेर समूहमा विवाह हुने ९.३ प्रतिशत, १५–१७ वर्षमा २७.७ प्रतिशत, र १८–२० वर्ष उमेर समूहमा ३९.५ प्रतिशत घटना देखिएको छ। पुरुषको औसत पहिलो विवाहको उमेर २० वर्ष भए पनि महिलाको औसत १७ वर्ष छ।
मधेसमा १८ वर्षभन्दा कम उमेरमा विवाह गर्ने महिलाको संख्या ४२.४ प्रतिशत छ भने महोत्तरीमा यो प्रतिशत अझ बढी ४३.३ रहेको छ। अन्तर्राष्ट्रिय गैरसरकारी संस्था सेभ द चिल्ड्रेन, बर्दिबासका सञ्चार अधिकृत झम्केश्वर ओझा भन्छन्, “हामीले विभिन्न सामाजिक संघसंस्थासँग सहकार्य गर्दै बालविवाहविरुद्ध अभियान सञ्चालन गरिरहेका छौं। यसले सुधारमा योगदान पुर्याएको छ।”
मधेसमा पहिलो विवाहको औसत उमेर पुरुष २० र महिला १७ वर्ष देखिन्छ। यस्तै, २१–२४ वर्ष उमेर समूहमा विवाह हुनेको संख्या १४.५ प्रतिशत छ।
जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णका अनुसार, “बालविवाह अझै सामाजिक समस्या भए तापनि, २०७८ सालदेखि यसमा उल्लेखनीय सुधार आएको छ। स्थानीय तहले सामाजिक संघसंस्थासँग मिलेर अभियान सञ्चालन गर्दा सुधार देखिएको छ।”
मटिहानी नगरपालिकाका प्रमुख हरिप्रसाद मण्डलले भने, “२०७८ सम्म बालविवाह विकराल समस्या थियो, तर बर्सेनि विवरण संकलन, छोरी शिक्षा र किशोरी शिक्षा कार्यक्रमसँगै बस्तीबस्ती अभियान टोली सञ्चालन गरेपछि यस वर्ष बालविवाहका घटना देखिएका छैनन्।”
मधेस प्रदेश सरकारले २०७८ सालमै बालविवाह मुक्त प्रदेश बनाउन सन् २०३० सम्मको १० वर्षे रणनीतिक योजना अघि सारेको छ। यसअघि बाल अधिकार ऐन, २०७७, लैङ्गिक समानता नीति, २०७८, बाल सहभागितासम्बन्धी कार्यविधि, २०७८, बालिका सशक्तीकरण तथा संरक्षण ऐन, २०८१ र ‘बेटी बचाउ, बेटी पढाऊ’ अभियानले समेत बालविवाहलाई रोक्न योगदान पुर्याउँदै आएको छ।





