वन कुखुरा (कालिज) पालनमा ५० लाखको लगानी, ‘सानो स्वर्ग’ फार्म बागलुङमा आकर्षण



बागलुङ । बागलुङको ढोरपाटन नगरपालिका–२ सलामकोटका चुडामणि कँडेलले सात वर्षदेखि सञ्चालन गर्दै आएको कालिज पालन व्यवसाय अहिले स्थानीयको आकर्षण बनेको छ। घर नजिकैको जङ्गलमा फलामे तारले घेरिएको ‘सानो स्वर्ग’ नामक फार्ममा रातो, हरियो, नीलो र छिर्केमिर्के कालिज दौडिरहेको, उफ्रिरहेको र उडिरहेको दृश्य हेर्न धेरैजना पुग्ने गर्छन्।

२०७५ सालमा काभ्रेबाट रहरले तीन पोथी र एक भाले कालिज ल्याएर सुरु गरिएको यस व्यवसायमा कँडेलले हालसम्म करिब रु ५० लाख लगानी गरिसकेका छन्। दश रोपनी क्षेत्रफलमा तारबार लगाएर बनाइएको फार्ममा अहिले करिब दुई हजार कालिज पालन भइरहेको छ। तीमध्ये करिब १,५०० कालिज बिक्रीका लागि तयार रहेको कँडेलले बताए।

दसैँ–तिहार अवधिमा मात्रै करिब दुई सय कालिज बिक्री भएको उनले सुनाए। प्रतिकालिज रु २,००० देखि २,५०० मा बिक्री हुने गरेको छ। सुरुमा बजार व्यवस्थापनमा कठिनाइ भए पनि अहिले भने ग्राहक आफैं फार्मसम्म आउने गरेको कँडेल बताउँछन्।

सरकारी सेवामा स्वास्थ्यकर्मीका रूपमा कार्यरत कँडेल बिहान–बेलुका फार्म सम्हाल्छन् र दिउँसो बुर्तिबाङ प्रादेशिक अस्पतालमा ड्युटी गर्छन्। चराचुरुङ्गीप्रति बाल्यकालदेखि रुचि राख्ने कँडेलको फार्म हेर्न टाढाटाढाबाट आगन्तुकहरू आउने गर्छन्।

व्यवसाय विस्तारसँगै उनले अहिले ह्याचरीमार्फत आफैं चल्ला उत्पादन गर्न थालेका छन्। ‘सानो स्वर्ग’ नामक फार्म दर्ता गरेर सुरु गरिएको कालिज व्यवसाय फस्टाउँदै जाँदा स्थानीय पनि उत्साहित छन्।

यद्यपि केही दिनअघि चितुवा फार्ममा पसेर ११० कालिज मारिदिँदा करिब रु ३ लाख नोक्सानी भोग्नुपरेको कँडेलले बताए। त्यस बावजूद, कालिज पालन नै स्थायी आम्दानीको स्रोत बन्न थालेपछि उनी उत्साहित छन्।

यस वर्ष रु १५ लाख बराबरको कालिज बिक्री गर्ने लक्ष्य कँडेलले राखेका छन्। उत्पादन बढ्दै गए पनि बजार विस्तार नै सबैभन्दा ठूलो चुनौती रहेको उनको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्