
बाँके । नेपालगन्ज उपमहानगरपालिका–६ फुल्टेक्रास्थित श्री १००८ हडियाबाबा आश्रम पछिल्ला वर्षमा धार्मिक आस्थाको प्रमुख केन्द्रका रूपमा स्थापित हुँदै गएको छ ।
हडियाबाबाको पुण्य स्मृति दिवसको अवसरमा सञ्चालन हुने वार्षिक मेलामा प्रत्येक वर्ष नेपालका विभिन्न जिल्ला तथा भारतका अनेक क्षेत्रबाट सयौँ साधु–सन्तहरूको उपस्थिति रहने गर्छ । कठ्याङ्ग्रिने जाडो बेवास्ता गर्दै साधु–सन्त दिनरात खुला बगैँचामा बस्दै भजन–कीर्तन र आध्यात्मिक साधनामा तल्लीन देखिन्थे ।
हडियाबाबाको ६०औँ पुण्य स्मृति दिवसको उपलक्ष्यमा कात्तिक २१ गतेदेखि शुरू भएको छ दिने धार्मिक मेलामा यस वर्ष नेपाल र भारत मिलेर ७०० भन्दा बढी साधु–सन्त सहभागी भएको आश्रम व्यवस्थापन समितिका अध्यक्ष नन्दलाल वैश्याले जानकारी दिए । उनका अनुसार, मेलामा प्रत्येक दिन साधु–सन्त तथा भक्तजनका लागि भण्डाराको विशेष व्यवस्था मिलाइएको छ ।
आश्रम समितिका सदस्य राकेश श्रीवास्तवका अनुसार, बाँके, बर्दिया, दाङ, कैलालीलगायत नेपालका जिल्लासहित भारतका विभिन्न क्षेत्रका साधु–महात्मा मेलामा सहभागी भइरहेका छन् । मेलामा रातिको समयमा प्रवचन, धार्मिक नाटक, रामलीला तथा भजन–कीर्तनलगायत विविध आध्यात्मिक कार्यक्रम आयोजना गरिन्छ । सहभागी साधु–महात्माका लागि खानपान, नास्ता तथा आवासको पूर्ण व्यवस्था गरिएको छ ।
मेलाको अन्तिम दिन टाढाबाट आएका साधु–सन्तलाई कम्मल, दक्षिणा आदिको वितरण गरिने अध्यक्ष वैश्याले बताए । करिब २० कट्ठा क्षेत्रफलमा फैलिएको आश्रम परिसरमा हडियाबाबाको समाधि, विभिन्न मन्दिर, गौशाला तथा हरियालीयुक्त उद्यान रहेका छन्, जसले आश्रमलाई अझ शान्त र आध्यात्मिक वातावरणयुक्त बनाएको छ ।
करिब एक सय वर्षअघि नेपालगन्ज आइ पुगेका हडियाबाबाले तपस्याका बलमा चाहेको वस्तु उत्पन्न गर्न सक्ने र भक्तजनको मनोकामना पूरा गरिदिने जनश्रुति रहँदै आएकोले आज पनि नेपाल र भारतभरिका भक्तजन हरेक वर्ष मेलामा सहभागी हुने गरेका छन् ।
स्थानीय अगुवा माधवराम बर्माका अनुसार, मेला अवधिभर प्रत्येक साँझ भक्तजनको ठूलो भीड मन्दिरमा दर्शन तथा प्रसादका लागि आउने गर्छ । हडियाबाबाको वार्षिक पुण्य तिथिमा लाग्ने यो मेला वर्षेनि धार्मिक, सांस्कृतिक र आध्यात्मिक उत्सवका रूपमा भव्यतापूर्वक मनाइन्छ ।





