
काठमाडौँ, कात्तिक २८ गते।
नेपाल ओलम्पिक कमिटी (एनओसी)ले शुक्रबार दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन बङ्गलादेश प्रस्थान गर्ने नेपाली टिमको औपचारिक विदाइ गरेको छ। अध्यक्ष जीवनराम श्रेष्ठ र महासचिव राजीव श्रेष्ठले टोलीलाई शुभकामना दिँदै शतप्रतिशत समर्पणका साथ खेल्न आग्रह गरे।

विदाइ समारोहमा अध्यक्ष श्रेष्ठले खेलाडीलाई उच्च मनोबलका साथ देशको प्रतिष्ठा संरक्षण गर्ने प्रकारको खेल प्रदर्शन गर्न प्रेरित गरे।
महिला कबड्डी विश्वकप यस वर्ष बङ्गलादेशको मिरपुरमा नोभेम्बर १५ देखि २५ तारिखसम्म आयोजना हुँदैछ। सुरुआतमा भारतमा हुने भनिएको प्रतियोगिता १३ वर्षपछि दोस्रो संस्करणका रूपमा पुनः सुरु हुन लागेको हो। सन् २०१२ मा पहिलो विश्वकप भारतको पटनामा सम्पन्न हुँदा भारतले उपाधि जितेको थियो। इरान उपविजेता तथा जापान तेस्रो भएका थिए।

यस संस्करणमा आयोजक बङ्गलादेश, गत विजेता भारत, नेपालसहित इरान, जापान, जर्मनी, केन्या, चाइनिज ताइपेई, थाइल्यान्ड, युगान्डा, अर्जेन्टिना र इन्डोनेसिया गरी १२ टिम सहभागी छन्। समूह ‘ए’ मा परेको नेपालले पहिलो खेल नोभेम्बर १७ मा खेल्नेछ।
विश्व वरीयतामा तेस्रो स्थानमा रहेको नेपालले यसपटक उत्कृष्ट प्रदर्शन गर्दै पदक जित्ने विश्वास टोलीका पदाधिकारीहरूले व्यक्त गरेका छन्। मानमती विष्टको कप्तानीमा रहेको टोलीमा उपकप्तान जयन्ती बडूका साथै गंगा घिमिरे, रविना चौधरी, मेनुका राजवंशी, मनिषा जोशी, सृजना धानुक, आशिका कुँवर, सन्जु थामी, मिना नेपाली, बिनिता क्षेत्री, आस्मा यादव, सृजना थारु र उरुसा शाक्य रहेका छन्।
टोलीसँग मुख्य प्रशिक्षक विष्णु दत्त भट्ट, सह–प्रशिक्षक हरिना थापा, व्यवस्थापक शरद दर्शनधारी तथा टेक्निकल अफिसर रमेशचन्द्र ओझा पनि सहभागी छन्।





