
केन्द्रीय राष्ट्रपतिको रनिङ शिल्ड तथा विश्वविद्यालय खेलकुद प्रतियोगिता आयोजना गर्न निजी क्षेत्र पाँच वर्षसम्म सहकार्य गर्ने भएको छ। आ.व. २०८२/८३ का प्रतियोगिताका लागि राष्ट्रिय खेलकुद परिषद् र नेपालय इन्टरनेशनल इभेन्ट म्यानेजमेन्ट प्रालि बीच सम्झौता भएको हो।
सम्झौतामा परिषद्का सदस्य–सचिव टंकलाल घिसिङ र नेपालयका अध्यक्ष सुवास प्रधानले हस्ताक्षर गरे। नेपाल सरकारबाट विनियोजन भएको रकमसँगै निजी क्षेत्रबाट थप प्रायोजन जुटाई प्रतियोगिता प्रभावकारी बनाउन सहकार्य हुने जनाइएको छ।
सम्झौता अनुसार नेपालयले राष्ट्रपति रनिङ शिल्डका लागि न्यूनतम २० लाख र विश्वविद्यालय खेलकुदका लागि न्यूनतम १० लाख रुपैयाँ प्रायोजन गर्नेछ। प्रायोजन रकम प्रत्येक वर्ष १० प्रतिशत वृद्धिगरिने उल्लेख छ। संकलित रकम पारदर्शी रूपमा परिषद्लाई उपलब्ध गराइने तथा खर्चपछि बाँकी नाफाको १० प्रतिशत परिषद्का खातामा जम्मा गरिनेछ।





