
काठमाडौँ, कात्तिक २८
दोस्रो महिला कबड्डी विश्वकपमा सहभागी हुन १४ खेलाडीसहित १८ सदस्यीय नेपाली टोली शनिबार बंगलादेशको ढाका प्रस्थान गर्ने भएको छ। नोभेम्बर १७ देखि २५ तारिखसम्म आयोजना हुने विश्वकपमा नेपालका मानमति विष्ट, जयन्ती बडू, मेणुकाकुमारी राजवंशी, रविना चौधरी, मिना नेपाली, गंगा घिमिरे, आशिका कुँवर, श्रृजनाकुमारी थारु, सिर्जना धानुक, मनीषा जोशी, उरुसा शाक्य, आस्मा यादव, विनिता पण्डित क्षेत्री र सन्जु थामी सहभागी हुनेछन्।
टोलीमा प्रशिक्षक विष्णुदत्त भट्ट, सह–प्रशिक्षक हरिना थापा, व्यवस्थापक सरद दर्शनधारी र निर्णायक रमेशचन्द्र ओझा रहेका छन्। अखिल नेपाल कबड्डी संघका महासचिव अरविन्दकुमार झालका अनुसार प्रतियोगितामा नेपालसहित १२ राष्ट्र सहभागी हुनेछन्।
राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव टंकलाल घिसिङलगायतले शुक्रबार आयोजित कार्यक्रममा टोलीलाई बिदाइ गरे।





