संसद पुनर्स्थापना गरी जेनजीका माग सम्बोधन गरेपछि मात्र निर्वाचनमा जानुपर्ने उपसभापति धनराज गुरुङको धारणा



काठमाडौं, २७ कात्तिक ।
नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले संसद पुनर्स्थापना गरी जेनजी आन्दोलनका माग सम्बोधन गरेपछि मात्रै निर्वाचनमा जानुपर्ने धारणा अघि सारेका छन्। सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार बसेको बैठकमा बोल्दै उनले जेनजी आन्दोलनलाई हल्कासित लिन नहुने स्पष्ट बताएका हुन्।

उपसभापति गुरुङका अनुसार दुई तिहाइको अहंकारका कारण भदौ २३ र २४ गते जेनजी आन्दोलन जन्मिएको हो। “संविधान संशोधन गर्ने नाममा एमालेसँग गठबन्धन बनाएर सरकार बनाइयो, तर संशोधन प्रक्रिया थालिएन,” उनले भने। संविधान संशोधन भएको भए जेनजीले उठाएका अधिकांश माग पूरा हुने उल्लेख गर्दै उनले तत्कालीन सरकारको व्यवहारलाई ‘मत्त हात्ती’ र ‘सडकको साडे’सँग तुलना गरे।

उनले २०४६ यतादेखि लाभको पद भोगेका नेता र कर्मचारीको सम्पत्ति छानबिन गर्न उच्चस्तरीय आयोग गठन गर्न माग गर्दै यसलाई पार्टीको एजेन्डा बनाइनुपर्ने बताए। “गोदाबारीको महासमिति बैठकमा पनि यो विषय एजेन्डा बनाउनुपर्ने बताएको थिएँ, तर छलफल निर्वाचनमा गठबन्धन गर्ने-नगर्नेमा केन्द्रित भयो,” उनले स्मरण गरे। गोदाबारी बैठकमा गठबन्धन नगर्ने निर्णय भए पनि त्यसपछि नेपाल पत्रकार महासंघलगायतका निर्वाचनमा फेरि गठबन्धन गरिएको उनले उल्लेख गरे।

देशको जिम्मेवार राजनीतिक शक्ति भएकाले कांग्रेसले देखिएका समस्याप्रति गम्भीर हुनुपर्ने उनको भनाइ छ। “२०६३ सालको जनआन्दोलनपछि जसरी माओवादीलाई संसद प्रवेश गरायौँ, त्यसैगरी अहिले पनि संसद पुनर्स्थापना गरी जेनजीलाई सहभागी गराई, उनीहरूका मागअनुसार संविधान संशोधन गरेर मात्र निर्वाचनमा जानुपर्छ,” उनले जोड दिए।

प्रतिक्रिया दिनुहोस्