
गुल्मी । रेसुङ्गा विमानस्थलमा आजदेखि सातामा चार पटक नियमित हवाई उडान पुनः सुरु गरिएको छ। नेपाल वायुसेवा निगम रेसुङ्गा स्टेशनका प्रमुख सुमन थापाका अनुसार निगमले पाँच महिनापछि पुनः नियमित उडान तालिका लागू गरेको हो।
नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज मर्मतका लागि रोकिएका कारण यसअघि जिल्लामा सातामा एक पटक—बिहीबार मात्र—उडान हुँदै आएको थियो। मर्मतसम्भार पूरा भएपछि अब आइतबार, मंगलबार, बिहीबार र शनिबार गरी हप्तामा चार दिन उडान सञ्चालन हुने भएको छ।
१९ सिट क्षमताको ट्वीनअटर जहाज काठमाडौँबाट बिहान ६:३० बजे र रेसुङ्गाबाट बिहान ७:३० बजे उड्नेछ। काठमाडौँ–गुल्मी हवाई मार्गमा निगमले काठमाडौँबाट गुल्मीसम्मको भाडा रु ७,५०० र गुल्मीबाट काठमाडौँसम्मको भाडा रु ७,३०० निर्धारण गरेको छ।
दिउँसोको समयमा रेसुङ्गा विमानस्थल क्षेत्रमा हावाको अत्यधिक चाप हुने भएकाले प्राविधिक कारणवश उडान बिहानको समयमा मात्र संचालन गर्नु परिरहेको निगमले जनाएको छ।





