
कास्की । कृषि क्षेत्रमा लगन र परिश्रम गरेरै राम्रो आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण पोखरा महानगरपालिका–३१ खनास्वाराका किसान टुकाराम लामिछानेले प्रस्तुत गरेका छन्। उनले कागती खेतीमार्फत तीन महिनामा झन्डै रु ९ लाख आम्दानी गर्दै स्थानीय तहमै अनुकरणीय कृषकका रूपमा परिचित बनेका छन्।
आठ वर्षअघि एलसी अर्गानिक कृषि फर्म दर्ता गर्दै २६ रोपनी भिरालो जमिनमा ५०० वटा सोना जातका कागतीका बिरुवा रोपेका लामिछानेका बोटहरूले चार वर्षयता निरन्तर उत्पादन दिइरहेका छन्। चालु वर्षका भदौ, असोज र कात्तिक महिनामा मात्र कागती बिक्रीबाट उनले रु ९ लाख कमाएका छन्।
कृषि ज्ञान केन्द्र स्याङ्जाबाट उपलब्ध गराइएका २०० ठूलो लेमनका बिरुवाले राम्रो उत्पादन दिए पनि बजार अभावका कारण उनले ती सबै हटाएर सोना जात नै रोपेका हुन्। अहिले बजारमा कागती प्रतिकिलो रु २०० देखि २५० सम्ममा बिक्री हुने भएकाले उत्पादन बेच्न कठिन नपर्ने उनको अनुभव छ।
६५ वर्ष पार गरिसकेका किसान लामिछानेले बाँदर तथा जङ्गली जनावरको क्षतिबाट परम्परागत खेती कठिन हुँदै गएकाले वैकल्पिक रूपमा सुरु गरेको कागती खेती अहिले मुख्य आम्दानीको स्रोत बनेको बताएका छन्। बेगनास तालको जलाधार क्षेत्रमा रहेको बगैँचामा लिप्टिङ प्रविधिमार्फत सिँचाइको राम्रो व्यवस्थाका कारण बोटमा वर्षभरि फल लाग्ने गरेको छ। यसैबाट वार्षिकरूपमा रु १५ लाखभन्दा बढी आम्दानी हुने उनले बताएका छन्।
एकै बोटबाट वर्षमा एक क्विन्टलसम्म फल उत्पादन हुँदा उत्साहित बनेका उनले भने, “तीन महिनामा दैनिक ४०–५० किलोसम्म उत्पादन भयो। कुनै पनि विषादी प्रयोग गर्नुपरेको छैन। बजारमा अर्गानिक उत्पादनको माग बढ्दो छ।”
तातोपानी, चिया तथा व्यञ्जनहरूमा कागतीको प्रयोग बढ्दै गएसँगै माग पनि विस्तारै उच्च हुँदै गएको उनले जानकारी दिए। कास्कीमै पहिलो व्यावसायिक कागती खेती सुरु गरेको दाबी गर्ने उनले राज्यले आवश्यक प्रोत्साहन र सहयोग पुर्याए कागती तथा तरकारीमा आत्मनिर्भर बन्न सकिने बताए।
कागतीका बीचमा तरुल, अकबरे खुर्सानी, टिमुर, अमला, ओल, एभोकाडो, अम्बा, सुन्तला, ज्यामिर, निबुवा, ठूलो बयर, रातो केरा, मेकानियानटजस्ता फलफूलसमेत राम्रोसँग फलेका छन्। परीक्षा स्वरूप रोपिएको एउटा स्याउको बोटमा ५०–६० वटा फल लागेको तर सबै बाँदरले नष्ट गरिदिएको उनले बताए।
“यदि सरकारले कृषककै फर्मबाट कृषि उत्पादन खरिद गर्ने व्यवस्था मिलाइदिए किसान अझ उत्साहित हुने थिए,” उनले भने, “उत्पादित कागती पोखराका रेष्टुरेन्ट र तरकारी पसलमै बिक्री गर्छु। यदि बजार पुर्याउने र पैसा उठाउने समय फर्ममा लगाउन पाइने हो भने आम्दानी अझै बढ्थ्यो।”
बोक्रा र पाकेका कागती सङ्कलन गरी अमिलो बनाउने र बेच्ने उनको थप आम्दानीको स्रोत हो। गत वर्ष ४८ माना अमिलो बेचेर रु ७२ हजार कमाएको उनले बताए। पकाएको अमिलो प्रतिमाना रु १,५०० र काँचो रस प्रतिमाना रु ५०० का दरले बिक्री हुँदै आएको छ।
अमिलो बनेर बाँकी बच्ने कागतीका छोक्राहरू तथा वनमारा, असुरो, भेली लगायतका वनस्पति सङ्कलन गरेर २,००० लिटर क्षमताको हिल ट्याङ्कीमा जैविक मल उत्पादन गर्ने व्यवस्था फर्ममा गरिएको छ। सो मल पाइपमार्फत प्रत्येक बोटमा पुर्याइने गरिएको छ।
वन क्षेत्र विस्तारसँगै बाँदर तथा जङ्गली जनावरको समस्या बढेर किसान खेतीबारी छाड्न बाध्य भइरहेका बेला लामिछानेको कागतीखेतीले नयाँ सम्भावना र प्रेरणा दिएको पोखरा महानगरपालिका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताएका छन्।





