बैतडीमा नयाँ मतदातामा उत्साह, नाम दर्ता गर्नेको संख्या बढ्दै



बैतडी । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीमा नयाँ मतदाता नाम दर्ता गर्नेको संख्या उत्साहजनक रूपमा बढ्दै गएको छ।

गत असोज ९ गतेदेखि सुरु भएको मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रममा हालसम्म ६ सयभन्दा बढीले नाम दर्ता गरिसकेको जिल्ला निर्वाचन कार्यालयका कम्प्युटर अपरेटर रतन चन्दले जानकारी दिए। उनका अनुसार हालसम्म ६१८ जनाको नाम दर्ता भइसकेको छ, जसमा २०१ महिला र ४१७ पुरुष रहेका छन्।

यस्तै, बाहिरी जिल्लाबाट आएका दुई महिला र सात पुरुषको पनि नाम दर्ता भएको जिल्ला निर्वाचन कार्यालयका निमित्त प्रमुख पुरुषोत्तम जोशीले बताए। यसअघि बैतडीमा कुल १ लाख ६१ हजार ३१२ जना मतदाता दर्ता भएका थिए। तीमध्ये ८२ हजार १२६ पुरुष, ७९ हजार १८४ महिला र दुई तेस्रो लिङ्गी रहेका छन्।

निर्वाचन आयोगको वेबसाइटमार्फत अनलाइन रूपमा पनि मतदाता विवरण भर्न सकिने व्यवस्था गरिएको छ। अनलाइन फारम भरेपछि प्रिन्ट गरेर जिल्ला निर्वाचन कार्यालयमा फोटो र फिङ्गरप्रिन्ट दिएकाे खण्डमा मात्रै नाम दर्ता हुने प्रणाली लागू छ।

यसअघि नाम दर्ता गर्न छुटेकाहरुलाई आगामी निर्वाचनका लागि नाम दर्ता गराउन जिल्ला निर्वाचन कार्यालयले आग्रह गरेको छ। सोह्र वर्ष उमेर पुगेका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त गरेका व्यक्तिले फोटोसहितको मतदाता नामावलीमा नाम दर्ता गर्न सक्नेछन्। तर मताधिकार प्रयोग गर्न १८ वर्ष पूरा भएको हुन आवश्यक रहेको कार्यालयले स्पष्ट गरेको छ।

प्रतिक्रिया दिनुहोस्