
कञ्चनपुर । भारतमा मजदुरी गरेर परिवार पाल्दै आएका कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१२ का शिवचरण राना अहिले आफ्नै गाउँमा दूध बिक्रीबाट वर्षमा करिब १३ लाख रुपैयाँ आम्दानी गर्दै सफल उद्यमी बनेका छन् ।
विगतमा भारतमा मजदुरी गर्दा अनेक दुःख सहनुपरेका रानाले आफ्नै गाउँमा केही गर्ने अठोटसहित स्वदेश फर्किए । विसं २०६८ सालमा दुई लिटर दूधबाट व्यवसाय सुरु गरेका उनले अहिले दैनिक करिब १,५०० लिटर दूध सङ्कलन गरी विभिन्न बजारमा बिक्री गर्दै आएका छन् ।
“भारतमा मजदुरी गर्दा धेरै दुःख पाइयो, त्यसपछि गाउँ फर्किएर साइकलमै दूध बिक्री गर्न थालेँ,” रानाले स्मरण गरे, “त्यसैबाट कमाएको रकम बचत गरेर अहिले आफ्नै डेरी सञ्चालन गरेको छु ।”
सुरुआती दिनमा साइकलमा गाउँगाउँ घुमेर दूध सङ्कलन गर्ने रानाले आफ्नो लगन र परिश्रमका कारण डेरी व्यवसायमा राम्रो पहिचान बनाउन सफल भएका छन् । हाल उनले झलारी बजार, अत्तरिया र कैलालीमा दूध आपूर्ति गर्दै आएका छन् । दूध बोक्नका लागि उनले ६ जना कामदारलाई मासिक रु २० देखि २६ हजारसम्म तलबमा रोजगार दिएका छन् ।
“दुई लिटर दूधबाट सुरु गरेको व्यवसाय अहिले दैनिक १,५०० लिटरमा पुगेको छ,” उनले बताए, “सबै खर्च कटाएर वार्षिक १३ लाख रुपैयाँसम्म आम्दानी हुन्छ ।”
उनका अनुसार हालसम्म उनले करिब ९० लाख रुपैयाँ बराबरको सम्पत्ति पनि जोड्न सफल भएका छन् । अब उनले आफ्नो छोरालाई पनि यही व्यवसायमा लगाएका छन् ।
रानाको यो सफलताले विदेश पलायन भएका युवाहरूलाई स्वदेशमै केही गर्न सकिन्छ भन्ने प्रेरणा दिएको छ । कठोर परिश्रम र आत्मविश्वासले उनले गाउँमै बसेर सम्मानजनक जीवन निर्माण गरेका छन्, जसका कारण उनी अहिले स्थानीय समुदायका लागि प्रेरणादायी व्यक्तित्व बनेका छन् ।





