
बागलुङ । बागलुङका किसानहरू कागतीका बोट धमाधम मर्न थालेपछि चिन्तित भएका छन् । जरा कुहिने रोग फैलिँदा सयौँ किसानका हजारौँ बोट सुक्न थालेका छन्, जसका कारण लाखौँको क्षति हुन थालेको स्थानीय किसानहरूले बताएका छन् ।
तीन महिनादेखि बोट पहेँलो हुँदै क्रमशः सुक्ने समस्या देखिएको किसानहरूले बताएका छन् । सुरुमा पात र हाँगा पहेँलो हुने, त्यसपछि बोट नै सुक्ने समस्या व्यापक बन्दै गएको छ ।
कृषि ज्ञान केन्द्र बागलुङका सूचना अधिकारी सन्तोष अधिकारीका अनुसार किसानहरूको गुनासोपछि बारीमै पुगेर गरिएको अध्ययनले जरा सुक्ने रोग (रुट रट) नै कागती मर्ने मुख्य कारण भएको पुष्टि भएको हो । उनले भने, “फल लागेको बोटमा अहिले उपचार गर्न मिल्दैन, फल टिपिसकेपछि मात्र जराको माटो खनेर उपचार गर्नुपर्छ । फल नदिएका बोट भने अहिले पनि उपचार गर्न सकिन्छ।”
निसीखोला गाउँपालिका–४ का किसान चक्रबहादुर रोकाका अनुसार बारीमा लगाइएका अधिकांश कागतीका बोट मर्न थालेका छन् । उनले भने, “बारीका सबै बोट सुकेर मर्न लागेका छन्, कोहीका हाँगा सुकिरहेका छन् भने कोहीको पूरै बोट मरेको छ । कृषि प्राविधिकलाई जानकारी गराए पनि समाधान पाउन सकेका छैनौं।”
गाउँकै अर्को किसान तमबहादुर खत्रीका १२० बोटमध्ये ९० भन्दा बढी बोटमा रोग देखिएको छ । उनले सुक्न थालेका बोटका हाँगा काट्दै उपचार प्रयास गरिरहेको बताए । अघिल्लो वर्ष धुलोको प्रकोपले पनि धेरै बोट मरेको उनको भनाइ छ ।
कृषि ज्ञान केन्द्रका अनुसार हाल बागलुङ जिल्लामा ७९७ हेक्टर क्षेत्रमा कागतीजन्य फलफूलखेती भइरहेको छ । पछिल्ला वर्षहरूमा कागतीखेतीतर्फ किसानको आकर्षण तीव्र रूपमा बढ्दो अवस्थामा रहेको भए पनि रोग र कीराको प्रकोपले उत्पादनमा असर पारेको जनाएको छ ।





