
मोरङ । कोशी प्रदेशका प्रदेश प्रमुख परशुराम खापुङ समक्ष बुधबार निर्वाचन आयोगले आफ्नो १९ औँ वार्षिक प्रतिवेदन बुझाएको छ।
प्रदेश निर्वाचन कार्यालय, कोशीका प्रमुख युवराज गुरागाईंले विराटनगरस्थित प्रदेश प्रमुखको कार्यालयमा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रमुख खापुङलाई हस्तान्तरण गरेका हुन्।
प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख खापुङले आगामी फागुन २१ गते निर्धारित निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न आयोगको भूमिका अत्यन्त जिम्मेवारीपूर्ण हुने उल्लेख गरे। उनले नागरिकलाई सार्वभौम सत्ताको प्रयोगका लागि मतदाता नामावलीमा दर्ता भई सक्रिय रूपमा सहभागिता जनाउन आग्रह गरे।
प्रदेश प्रमुख खापुङले जनताले विवेकपूर्ण रूपमा मतदान गरेर लोकतान्त्रिक शासन प्रणालीलाई सुदृढ बनाउँदै देशको समृद्धिमा योगदान पुर्याउनुपर्नेमा जोड दिए।
यस क्रममा आयोगका प्रदेश प्रमुख गुरागाईंले गत आर्थिक वर्षमा आयोगमा १२२ वटा मुद्दा दर्ता भएको र सोही अवधिमा कोशी प्रदेशमा ३४ लाख ३३ हजार ९ सय मतदाता रहेको विवरण प्रस्तुत गरे।





