
कास्की । पर्यटकीय नगरी पोखरामा भोलिदेखि तेस्रो संस्करणको ‘इन्डुरो अन्तर्राष्ट्रिय माउन्टेन बाइक’ प्रतियोगिता सुरु हुँदैछ । यही कात्तिक २९ गतेसम्म चल्ने यो प्रतियोगिता पोखरा महानगरपालिका–१३ स्थित आर्बा–विजयडाँडामा, समुद्री सतहदेखि एक हजार ३६० मिटर उचाइमा आयोजना हुने भएको छ ।
आयोजक माउन्टेन बाइक कम्पनी डन टिल डस्क का अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ र सहभागी खेलाडीहरू पोखरा आइपुगेका छन् । प्रतियोगिता स्थल विभिन्न देशका झण्डाहरूले सजाइएको छ ।
प्रतियोगिताका ‘रेस निर्देशक’ सुनीलचन्द्र शर्माका अनुसार नेपालसहित जर्मनी, सिङ्गापुर, अष्ट्रेलिया, बेलायत, श्रीलङ्का, ओमन र अमेरिका गरी आठ देशका ५० खेलाडीले प्रतिस्पर्धा गर्नेछन् । उनले भने, “साहसिक इन्डुरो माउन्टेन बाइक रेसका सबै तयारी पूरा भएका छन् । आठ देशका खेलाडी सहभागी हुँदैछन् ।” उनका अनुसार यसअघि १३ देशका खेलाडीले नाम दर्ता गराएका थिए तर नेपालमा भएको जेनजी आन्दोलनका कारण केही देशले सहभागिता रद्द गरेका हुन् ।
प्रतियोगितामा पुरुषतर्फ जुनियर (१२–१८ वर्ष), महिला खुला (१८ वर्ष माथि), इलिट (२९ वर्ष माथि), मास्टर्स ‘क’ (३०–३९ वर्ष), मास्टर्स ‘ख’ (४०–४९ वर्ष) र भेट्रान (५० वर्ष माथि) गरी ६ विधामा छुट्टाछुट्टै ट्रयाकमा प्रतिस्पर्धा हुनेछ ।
सन् २०२० देखि तयारीमा जुटेको डन टिल डस्क ले सो क्षेत्रलाई माउन्टेन बाइक खेलका लागि उपयुक्त संरचना निर्माण गर्दै आएको छ । यसअघि विसं २०८० र २०८१ मा पनि प्रतियोगिता सफलतापूर्वक सम्पन्न भइसकेको छ ।
संयोजक शर्माका अनुसार इन्डुरो माउन्टेन बाइक प्रतियोगिताले विश्वभरका माउन्टेन बाइक प्रेमीलाई आकर्षित गर्ने र नेपालको साहसिक पर्यटन प्रवद्र्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।





