
मुस्ताङ । हिउँद सुरु हुनासाथ उपल्लो डोल्पाका याकहरू धमाधम मुस्ताङ झारिँदै छन् । जोमसोमलगायत स्थानमा बिक्रीका लागि ल्याइएका याकहरू हाल बजारमा देखिन थालेका छन् ।
हरेक वर्ष कात्तिक र मङ्सिर महिनामा उपल्लो डोल्पाका विभिन्न गाउँहरूमा पालिएका अग्ला कदका याक मुस्ताङमा बिक्रीका लागि ल्याइने चलन रहँदै आएको छ । हिउँदयाममा तरकारीको अभाव हुने भएकाले याकको मासु र सुकुटीले मुस्ताङीहरूको भान्सामा विशेष स्थान पाउने गरेको छ ।
मुस्ताङमा हिउँदभर घरघरमा याक र भेडाच्याङ्ग्राको सुकुटी बनाउने परम्परा छ । यद्यपि, पछिल्लो समय भेडाच्याङ्ग्रा महँगो परेपछि स्वास्थ्यका दृष्टिले फाइदाजनक र स्वादिलो याकको मासुबाट सुकुटी बनाउने चलन बढ्दै गएको छ । याकको सुकुटी विभिन्न तरकारीमा मिसाएर हिउँदयाममा प्रमुख भोजनका रूपमा खाने गरिन्छ ।
उपल्लो डोल्पा याक–चौँरी पालनको मुख्य केन्द्र मानिन्छ । त्यहाँका अग्ला र बलिया याकहरू मुस्ताङका याकभन्दा बढी गुणस्तरीय मानिन्छन् । उच्च हिमाली क्षेत्र डोल्पामा प्रशस्त चरनभूमि, सन्तुलित हावापानी र यार्सागुम्बा, निरमसी, जटामसी, पाचौँले जस्ता जडीबुटी पाइने भएकाले त्यहाँका याकहरू बलिया र स्वास्थ्यवर्द्धक हुन्छन् ।
विगतका वर्षहरूझैं यस वर्ष पनि डोल्पाबाट याक ल्याउने काम सुरु भएको छ । मङ्गलबारसम्म पाँच हुल याक मुस्ताङ आइपुगेका छन् भने थप दुई हुल आउने क्रममा छन् ।
बारागुङ मुक्तिक्षेत्र–५ धार्काजुङका याक व्यापारी सितार गुरुङले उपल्लो डोल्पाको पिसेर, छार्का, तिञ्जु र धोतरपलगायत गाउँबाट १८ वटा याक खरिद गरी १२ दिन पैदल यात्रा गरेर जोमसोम पुर्याएका छन् । भारी हिमपातका कारण यसपटक डोल्पाबाट मुस्ताङ ल्याउन कठिनाइ भएको उनले बताए ।
“सडकमा बाक्लो हिउँ जमेको छ, बाटोमै पकाएर खानुपर्छ, कहिलेकाहीँ याक हराउने डर पनि हुन्छ,” गुरुङले भने । उनका अनुसार डोल्पाबाट होलसेल मूल्यमा खरिद गरिएका याक जोमसोममा प्रतियाक रु एक लाख ६५ हजारमा बिक्री गरिन्छ ।
छ वर्षदेखि निरन्तर याक व्यापारमा संलग्न गुरुङका अनुसार अर्डर गरेर वा सिधै बजारमा आएर किन्नेहरू दुवै समूहका ग्राहक छन् । डोल्पाबाट ल्याइएका प्रत्येक याकको तौल २५० केजीभन्दा बढी हुने उनले बताए ।
हिउँदयाममा याकको सुकुटी मुस्ताङीहरूको भान्साको प्रमुख परिकार बन्ने गरेको छ । हाल याकको मासु पर्यटकहरूबीच पनि लोकप्रिय बन्दै गएको छ । जोमसोम, मार्फा, स्याङ, टुकुचे, कोवाङ र लेते क्षेत्रमा ल्याइएका याक सजिलै बिक्री हुने गरेका छन् ।
याक सुकुटी हिउँदयाममा मात्रै तयार पार्ने परम्परा छ, किनभने चिसो मौसममा सुकुटी राम्रोसँग सुक्ने र गन्हाउने सम्भावना नहुने विश्वास गरिन्छ । यसरी सुकाइएको याक सुकुटी मुस्ताङीहरूको हिउँदयामको अभिन्न अन्नपानी बनेको छ ।





