
काठमाडौँ । जावलाखेलस्थित सदर चिडियाखानामा आजदेखि पूर्ण रूपमा कालो रङको दुर्लभ चितुवा (ब्ल्याक प्यान्थर) सार्वजनिक अवलोकनका लागि राखिएको छ ।
पूर्वी नेपालको इलामबाट उद्धार गरी ल्याइएको उक्त चितुवा गत भदौ १७ गतेदेखि चिडियाखानामा पशु चिकित्सकको प्रत्यक्ष निगरानीमा राखिएको थियो । हाल स्वास्थ्य अवस्था सामान्य भएपछि दर्शकका लागि प्रदर्शनमा राखिएको चिडियाखानाका प्रमुख सत्यनारायण साहले जानकारी दिए ।
यो चितुवा सामान्य चितुवाकै प्रजातिको भए पनि ‘मेलानिज्म’ नामक जेनेटिक म्युटेसनका कारण शरीरमा बढी मात्रामा मेलानिन उत्पन्न भई छालामा काला धब्बा घनीभूत देखिने हुँदा पूर्ण रूपमा कालो देखिन्छ । यस्ता कालो चितुवा अत्यन्तै दुर्लभ हुने बताइन्छ ।





