सिन्धुलीमा भीषण सवारी दुर्घटना : दुईको मृत्यु, चार गम्भीर घाइते



सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिका–४ लक्ष्मीपुरस्थित मदन भण्डारी राजमार्गमा आज दिउँसो भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने चार जना गम्भीर घाइते भएका छन् ।

भिमानबाट दुधौलीतर्फ जाँदै गरेको ट्रक (प्रदेश १–०२–००२ ख ४११) र विपरीत दिशाबाट आउँदै गरेका दुई मोटरसाइकल (प्रदेश २–०१–००१ प २१४२ र म.प्र.०२–००६ प ५८४१) एकआपसमा ठोक्किँदा दुर्घटना भएको हो ।

जिल्ला प्रहरी कार्यालय, सिन्धुलीका अनुसार दुधौली नगरपालिका–११ टाडीका ३४ वर्षीय रामकुमार कुमर र दुधौली–३ का २५ वर्षीय फुलबाबु धामीको उपचारका क्रममा दुधौली नगर अस्पताल सिर्थौलीमा मृत्यु भएको हो ।

त्यस्तै, दुधौली–३ का २६ वर्षीय विप्लव धामी, २७ वर्षीय बुद्धि थारू, २५ वर्षीय सुनिल माझी र ३२ वर्षीय कुशे धामी घाइते भएका छन् । तिन मध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरी उपरीक्षक (एसपी) लालध्वज सुवेदीले जानकारी दिए । उनका अनुसार केही घाइते बोल्न नसक्ने अवस्थामा रहेका छन् ।

दुर्घटनापछि म.प्र.०२–००६ प ५८४१ नम्बरको मोटरसाइकलमा आगलागी भई पूर्ण रूपमा नष्ट भएको छ । ट्रक चालक धनकुटा छ थर जोरपाटी गाउँपालिका–६ का २५ वर्षीय शेरबहादुर विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

घाइते चारै जनाको दुधौली नगर अस्पतालमा उपचार भइरहेको र घटनाबारे थप अनुसन्धान जारी रहेको इलाका प्रहरी कार्यालय डकाहाकी प्रहरी निरीक्षक सपना खड्काले बताइन् ।

प्रतिक्रिया दिनुहोस्